घोराही – घोराही १७ गुलरियामा जारी एक महिने शिव महापुराण तथा श्रृङ्गारिक महाआरतीमा दैनिक नगद दान गर्ने दाताहरु थपिँदै गएका छन् । ऐतिहासिक तथा धार्मिक महत्व बोकेको सहिद स्मारक पार्क, सांस्कृतिक सङ्ग्रहालय परिसर र शिव पार्वती तथा राधाकृष्ण मन्दिरको संरक्षण तथा भौतिक स्तर उन्नतिका लागि आयोजित शिव महापुराण तथा श्रृङ्गारिक महाआरतीमा नगद दान गर्ने दाता थपिँदै गएका हुन् ।
आइतबार घोराही उपमहानगरपालिका वडा नम्बर १७ गुलरियास्थित जमुना टोल निवासी बसन्ता केसि र उहाँको छोरा त्रिविक्रम केसिले शिव महापुराण तथा श्रृङ्गारिक महाआरतीमा १ लाख १० हजार १ सय ५५ रुपैयाँ नगद दान गर्नुभएको छ । धार्मिक मन्दिर परिसरको सौन्दर्यकरण, सङ्ग्राहालयको स्तरोन्नति, पदमार्ग, विश्राम गृह, बत्ती व्यवस्थापन, पानी सुविधा जस्ता आधारभूत संरचनाको सुधार तथा थप विकासका लागि सहयोग पुगोस् भन्ने उद्देश्यसहित नगद दान गरेको दाता केसिले बताउनुभयो । शिवपार्वती तथा राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवम् शिवपुराण तथा श्रृङ्गारिक महाआरती मूल आयोजक समिति सचिव दीपक वलीले धार्मिक अनुष्ठान सफल बनाउन सहयोग गर्नुहुने दाता परिवारलाई धन्यवाद दिनुभयो । गुलरिया पार्क राम्रो बनाउनु सबैको साझा दायित्व र जिम्मेवारी रहेको हुँदा जित शिव महापुराण तथा श्रृङ्गारिक महाआरतीमा सहभागी भई पुण्यलाभ कमाउन आयोजकले सबैमा अनुरोध गरेको छ । शिव महापुराण तथा श्रृङ्गारिक महाआरतीमा हरेक दिन बिहान साढे ४ बजेदेखि योग साधनाबाट शुरु हुने गरेको छ । रुद्री, रूद्राभिषेक, लक्ष्यवर्तिका, चौरासी पूजा, जन्मदिन, गृहपूजा, नाग पूजा, ब्राह्मण भोजन, प्रसाद वितरण, ब्रतबन्ध, चूडाकर्मलगायत साँझ दैनिक महाआरती हुने गरेको छ । महाआरतीमा दैनिक उल्लेख्य भक्तजनको उपस्थिती हुने गरेको छ । शिव महापुराण तथा श्रृङ्गारिक महाआरतीका प्रमुख कथावाचक सुप्रसिद्ध पण्डित आचार्य श्यामशरण रहनु भएको छ ।
गुलरीयामा आयोजित शिव महापुराण तथा महाआरतीमा केसि परिवारद्वारा १ लाख १० हजार १ सय ५५ दान






