काठमाडौँ – अपिहिमाल गाउँपालिकामा अवस्थित ६,३९५ मिटर उचाइको ल्ह्युल (भभया चुली) हिमालमा पहिलोपटक हिमाल आरोहण तालिम अर्थात माउन्टेन गाइड तालिम संचालन हुने भएको छ। यसका लागि नेपाल पर्यटन बोर्ड (NTB), संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (UNDP) अन्तर्गतको STP परियोजना, नेपाल पर्वतारोहण संघ (NMA) र अपिहिमाल गाउँपालिका बीच ऐतिहासिक सम्झौता भएको हो।

यो तालिमको माध्यमबाट योग्य माउन्टेन गाइड तयार हुने र सुदूरपश्चिममा रहेका हिमाल आरोहणका अवसरको ढोका औपचारिक रूपमा खुल्ने अपेक्षा गरिएको छ। यसअघि नेपाल सरकारले सुदूरपश्चिमका सम्पूर्ण हिमालमा लाग्ने रॉयल्टी शुल्क पूर्ण रूपमा मुक्त गर्ने निर्णय गरिसकेको छ, जसले उच्च हिमाली क्षेत्रमा बसोबास गर्ने नागरिकको जीवनस्तर उकास्न र स्थानीय युवालाई रोजगारी सिर्जना गर्न मद्दत पुर्याउनेछ।

तालिम सुरु गर्न महत्वपूर्ण पहल र योगदान पुर्याउने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशी, STP परियोजनाका निर्देशक धर्म दवाडी, NMA का अध्यक्ष, सचिवालय सदस्य राजेन्द्र लामा, तालिम प्रमुख तथा प्रशिक्षक संजिव गुरुङ लगायत सम्पूर्ण प्रत्यक्ष-अप्रत्यक्ष सहयोगीहरूलाई अपिहिमाल गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले धन्यवाद ज्ञापन गरेका छन्। उनका अनुसार, यो तालिमले केवल अपिहिमाल मात्र नभई सिंगो सुदूरपश्चिम प्रदेशलाई उच्च हिमाली पर्यटनको नयाँ गन्तव्यका रूपमा स्थापित गर्नेछ।







