काठमाडौं — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा प्रक्रिया अघि बढाउन संघीय स्तरका सबै निकायलाई परिपत्र जारी गरेको छ। निजामती सेवा ऐन, २०४९ को दफा १८ तथा निजामती सेवा नियमावली, २०५० को नियम ३६ अनुसार हरेक वर्ष भदौ १ देखि भदौ मसान्तसम्म सरुवा सम्पन्न गर्नुपर्ने कानुनी व्यवस्था अनुसार यो परिपत्र पठाइएको हो।
मन्त्रालयले सरुवा चाहने कर्मचारीलाई २०८२ साउन मसान्तभित्र राष्ट्रिय कितावखानामा व्यक्तिगत विवरण अद्यावधिक गरी, नियमावलीको अनुसूची ९ अनुसारको ढाँचामा तयार पारी मन्त्रालयको इमेल ठेगानामा निवेदन पठाउन निर्देशन दिएको छ।
यस्तै, सबै मन्त्रालय, आयोग, सचिवालय तथा अन्य निकायलाई मातहतका कार्यालयमा कार्यरत कर्मचारीको विवरण राष्ट्रिय किताबखानासँग समन्वय गरी ७ दिनभित्र अद्यावधिक गराउन भनिएको छ। अद्यावधिक विवरण मन्त्रालयको इमेलमा पठाउने व्यवस्था गरिएको छ, जसका लागि मन्त्रालयले तोकिएको ढाँचा पनि उपलब्ध गराएको छ।
मन्त्रालयका अनुसार सरुवा प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले यो निर्देशन जारी गरिएको हो। यसले कर्मचारी व्यवस्थापनमा एकरूपता ल्याउने र सेवा वितरणमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।







