काठमाडौं – नेपाल शिक्षक महासंघले आगामी भदौ ३ र ४ गतेका लागि राष्ट्रिय समितिको पूर्ण प्रत्यक्ष बैठक बोलाउने निर्णय गरेको छ। आज बसेको महासंघको बैठकले सो निर्णय लिएको हो।
महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीका अनुसार, सरकारले शिक्षकहरूसँग भएका सहमति कार्यान्वयन नगरेको भन्दै भदौको दोस्रो सातादेखि चरणबद्ध आन्दोलन सुरु गर्ने तयारी गरिएको छ।
“आन्दोलनको कार्यक्रम महासंघको आन्दोलन परिचालन समितिले तयार गर्नेछ,” अध्यक्ष सुवेदीले बताए, “त्यसपछि राष्ट्रिय समितिबाट पारित गरी सार्वजनिक गर्नेछौं।” उनले अहिले सार्वजनिक रूपमा उठेका विभिन्न विषयहरूमध्ये शिक्षकको हितमा देखिने कुनै ठोस कुरा सरकारबाट आउन नसकेको भन्दै असन्तोष व्यक्त गरे। महासंघले आगामी बैठकमा आन्दोलनको स्वरूप, रणनीति र सरकारसँगको सम्बन्धबारे थप निर्णय लिने जनाएको छ।






