नेपालमा पहिलोपटक फरक ढंगमा राष्ट्रिय स्तरको विद्यालय हाजिरी जवाफ प्रतियोगिता आयोजना हुने

काठमाडौं – नेपालमा पहिलोपटक फरक ढंगमा राष्ट्रिय स्तरको विद्यालय हाजिरी जवाफ प्रतियोगिता आयोजना हुने भएको छ। नेपालय इन्टरनेशनल, नेपाल स्कूल स्पोर्ट्स फेडेरेसन (NSSF) र निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को संयुक्त आयोजनामा “राष्ट्रिय विद्यालय हाजिरी जवाफ प्रतियोगिता २०८२” सञ्चालन गरिने भएको हो।

प्रतियोगिता तीन चरणमा सञ्चालन हुनेछ । जिल्ला, प्रदेश र केन्द्रीय स्तर। भदौ २० गते जिल्लास्तरको छनोट प्रतियोगिता सुरु हुनेछ भने कार्तिक १६ देखि २३ गतेसम्म प्रदेशस्तरीय छनोट सञ्चालन हुनेछ। अन्ततः मंसिर ५ देखि ७ गतेसम्म काठमाडौंमा ग्रान्ड फिनाले आयोजना गरिने छ। प्रतियोगिताको सम्पूर्ण प्राविधिक पक्ष ISF Academy नेपालद्वारा संयोजन गरिने आयोजकले जनाएका छन्।

जिल्ला चरणमा ७७ जिल्लाबाट करिब ५ हजार विद्यालयका १० हजारभन्दा बढी विद्यार्थीको सहभागिता रहने अपेक्षा गरिएको छ। सामुदायिक, निजी, गुठी लगायत सबै प्रकारका विद्यालयहरूको समावेशी सहभागिता सुनिश्चित गरिने आयोजकले बताएका छन्। प्रतियोगितामा कक्षा ७ देखि १० कक्षासम्मका १६ वर्ष मुनिका विद्यार्थीले भाग लिन पाउने छन्।

कार्यक्रमको उद्देश्य विद्यार्थीमा ज्ञान, आत्मविश्वास र प्रतिस्पर्धाको भावना विकास गर्नु रहेको आयोजक संस्थाहरूले बताएका छन्। विजेताहरूलाई विभिन्न पुरस्कार प्रदान गरिनेछ। महिला तथा पुरुष विजेता टोलीलाई २/२ थान स्कुटर र आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ। उपविजेता टोलीलाई ल्यापटप, तेस्रो स्थानलाई मोबाइल फोन र चौथो स्थानलाई ट्याबलेट सहित गिफ्ट ह्याम्पर प्रदान गरिनेछ। साथै, फाइनलमा पुगेका सबै टोलीलाई प्रमाणपत्र, सम्मानपत्र, ट्रफी र मेडल दिइनेछ।

अन्तिम प्रतिस्पर्धामा पुग्ने विद्यार्थीहरूले छात्रवृत्ति तथा अन्य शैक्षिक सुविधाहरू पनि प्राप्त गर्नेछन्। साथै उत्कृष्ट क्विज मास्टर, आयोजक जिल्ला र प्रतिभाशाली विद्यार्थीहरूलाई पनि विशेष सम्मान गरिने आयोजकले जनाएको छ। प्रतियोगिता टेलिभिजन तथा डिजिटल माध्यमबाट प्रसारण गरिनेछ। प्रदेश र राष्ट्रिय चरणका केही प्रतिस्पर्धा कार्यक्रमहरू मिडिया प्लेटफर्ममार्फत सार्वजनिक गरिनेछन्, जसले प्रतियोगितालाई लाखौं दर्शकसम्म पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यक्रमको कुल अनुमानित लागत १ करोड २४ लाख ५० हजार रुपैयाँ रहेको छ। आयोजकले प्रतियोगितालाई एक दिगो, दोहोर्याउन सकिने र राष्ट्रिय मोडेलको रूपमा विकास गर्ने लक्ष्य लिएको बताएका छन्। कार्यक्रमबारे जानकारी गराउँदै आयोजकले सम्पूर्ण विद्यालय, शिक्षक, अभिभावक, विद्यार्थी तथा सञ्चारकर्मीहरूलाई सक्रिय सहकार्य गर्न आह्वान गरेका छन्। साथै, प्रतिष्ठित सञ्चारमाध्यममार्फत प्रतियोगिता बारे जानकारी दिनुपर्ने आवश्यकता पनि औंल्याएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्