गुप्तचर प्रमुखको दौडधुप : हुतराजको कार्यकाल अन्त्यतिर, जोशी र कार्कीको नाम अगाडि

काठमाडौं — राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) को नेतृत्व फेरिने तयारीमा सत्ताका शक्तिकेन्द्रहरू फेरि सक्रिय भएका छन्। विभागका वर्तमान प्रमुख हुतराज थापाको तीन वर्षे कार्यकाल भदौ अन्तिम साता सकिन लागेपछि नयाँ मुख्य अनुसन्धान निर्देशकका लागि दौडधुप तीव्र बनेको हो।

हाल सत्ताको बागडोर सम्हालिरहेको कांग्रेस नेतृत्वको सरकारले नयाँ नियुक्ति गर्न सक्ने सम्भावना बलियो छ। स्रोतका अनुसार, ओम जोशी र टेकेन्द्र कार्की दुई मुख्य दाबेदारको रूपमा अगाडि छन्।

नेतृत्वका लागि प्रतिस्पर्धा :

  • ओम जोशी, तीन वर्षअघि पनि प्रमुखको दौडमा थिए। उनी नेपाली कांग्रेस, विशेषतः शेरबहादुर देउवा निकट मानिन्छन्। अहिले देउवा सत्ताको नेतृत्वमा रहेका कारण उनको सम्भावना उच्च आँकलन गरिएको छ।
  • अर्का दावेदार एआइजी टेकेन्द्र कार्की हुन्, जसको एमाले नेताहरूसँग निकटता रहेको बताइन्छ। उनी हाल विभागभित्र सक्रिय छन् र नियुक्तिका लागि आवश्यक भेटघाट, सिफारिस र सञ्जाल विस्तारमा जुटिरहेका छन्।

थापाको विवादास्पद कार्यकाल

हुतराज थापा तत्कालीन माओवादी नेताको सिफारिसमा प्रमुख बनेका थिए। प्रचण्डको प्रभावमा पद सम्हालेका थापाले पछिल्लो चरणमा आरजु देउवा निकट व्यक्तिहरूको सञ्जाल मार्फत आफ्नो पद टिकाएका थिए। तर, थापाको कार्यकाल विभागभित्र अनुशासनहीनता, आन्तरिक राजनीति, र राजनीतिक सूचना लीक जस्ता गम्भीर बेथितिहरू बढेको आरोप लगाइन्छ।

गुप्तचर विभागमा सधैं राजनीतिक ‘चलखेल’

राष्ट्रिय अनुसन्धान विभागको प्रमुख नियुक्ति सामान्य प्रशासनिक पदस्थापन होइन। शक्तिकेन्द्रहरूसँग प्रत्यक्ष जोडिने, सूचना पहुँच र नियन्त्रणको विषय भएकाले यहाँ निर्णय सधैं गठबन्धन, गुटगत समीकरण र व्यक्तिगत स्वार्थमा आधारित हुने गरेको पाइन्छ।

वर्तमान अवस्थामा कांग्रेस र एमालेबीच शक्ति सन्तुलन कायम गर्नुपर्ने स्थिति रहेकोले, नयाँ प्रमुखको चयनमा सत्तारूढ दलहरूबीचको सहमति निर्णायक हुने देखिन्छ।

गुप्त सूचना संकलन, विश्लेषण, र प्रतिरक्षा संयन्त्रसँग प्रत्यक्ष संलग्न रहने यो निकायको नेतृत्वमा को आउँछ भन्नेबारे धेरै चासो बढेको छ। अबको केही हप्तामा गुप्तचरको नेतृत्व फेरिनेछ – तर त्यो व्यावसायिक आधारमा कि राजनीतिक समीकरणका आधारमा? समयले बताउनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्