रुपन्देही – सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोगमा रुपन्देही कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई थुनामुक्त गर्न माग गर्दै जिल्ला अदालत रूपन्देहीमा निवेदन दर्ता गरेका छन्।
लामिछानेले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ को हवाला दिँदै बैंक जमानतमा रिहा हुन पाउने कानुनी अधिकार माग गरेका हुन्। उनले सहकारी ठगी प्रकरणमा आफू संलग्न नरहेको दाबी गर्दै, आफ्नो नाममा परेको बिगो बराबरको रकम बैंक जमानतमा राखेर रिहा हुन माग गरेका छन्।
उनको सचिवालयका अनुसार १९ साउनमै अदालतमा निवेदन दर्ता गरिए पनि यो कुरा तीन दिनसम्म गोप्य राखिएको थियो। रास्वपा रुपन्देहीका सभापति डा. बुद्धिप्रसाद शर्माले लामिछानेले निवेदन दिएकोबारे बिहीबार मात्रै जानकारी पाएको बताएका छन्।
रवि लामिछाने चैत २५ गतेदेखि रूपन्देही कारागारमा थुनामा छन्। यसअघि जिल्ला अदालत रुपन्देहीले सुप्रिम सहकारी प्रकरणमा उनलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। तर, उच्च अदालतले सो आदेश उल्ट्याउँदै उनलाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको थियो।
लामिछाने यसअघि पनि सोही प्रकरणमा ८४ दिन हिरासतमा बसेपछि रिहा भएका थिए। त्यसपछि २५ दिनमात्र बाहिर रहँदै पुनः थुनामा परेका थिए।
उनले हाल पुनः अदालत समक्ष आफ्नो रिहाइको माग अघि सारेका छन्, जुन विषय अब अदालतको आगामी आदेशबाट टुंगो लाग्नेछ।






