काठमाडौं – नेकपा माओवादी केन्द्रले दशैंपछि तिहारअघि पार्टीको केन्द्रीय समिति बैठक आयोजना गर्ने निर्णय गरेको छ। मंगलबार बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले बैठकबारे जानकारी दिएका हुन्।
“केन्द्रीय समितिको बैठक दशैंपछि तिहारअघिको समयमा बस्ने निर्णय भएको छ,” उनले स्पष्ट पारे। साथै, स्थायी कमिटी बैठकले केही समययता रोकिएको मध्यपहाडी लोकमार्गको अभियान पुनः सक्रिय बनाउने निर्णयसमेत गरेको छ। भदौ १५ गतेदेखि अभियानलाई फेरि सुरु गरेर ताप्लेजुङसम्म पुर्याइने प्रवक्ता सापकोटाले जानकारी दिए।
यसअघि मध्यपहाडी लोकमार्ग अभियान पोखरासम्म पुगेपछि रोकिएको थियो। अब पुनः सुदूरपश्चिमदेखि पूर्वको ताप्लेजुङसम्म जोड्ने गरी अभियान सञ्चालन गरिने बताइएको छ।






