काठमाडौँ — दार्चुला जिल्ला महाकाली नगरपालिका–८ असिगडास्थित नेपाल–भारत सिमानामा निर्माण सम्पन्न भइसकेको मोटरेबल पुलपछिको चरणका रूपमा, नेपालतर्फ एकीकृत जाँच चौकी (ICP) स्थापना गर्न आवश्यक जग्गा प्राप्तिको प्रक्रिया अघि बढाउने तयारी तीव्र रूपमा गरिएको छ।
सोही प्रयोजनका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक शिव प्रसाद रेग्मी र प्रतिनिधिसभाका सांसद दिलेन्द्र प्रसाद बडूबीच काठमाडौँमा महत्वपूर्ण छलफल सम्पन्न भएको छ। छलफलमा नेपाल–भारत सीमामा निर्माण भइसकेको पुलले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यापार तथा आवागमनलाई सशक्त बनाउने भएकाले त्यसको सञ्चालनका लागि अत्यावश्यक रहेको एकीकृत जाँच चौकीको निर्माण प्रक्रिया अघि बढाउन जग्गा प्राप्ति प्रक्रिया छिटो टुंग्याउनुपर्नेमा सहमति भएको छ। उक्त छलफलमा महाकाली नगरपालिकाका पूर्व नगरप्रमुख हंसराज भट्ट पनि सहभागी रहेका थिए। उनले यस परियोजनाका लागि आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाउँदै ICP स्थापनाले दार्चुलाको समग्र विकास र सीमा व्यापारलाई थप गति दिने विश्वास व्यक्त गरे । महानिर्देशक रेग्मीले जाँच चौकी स्थापनाका लागि आवश्यक जग्गा प्राप्तिमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबीच समन्वय गर्दै प्रक्रिया यथाशीघ्र अगाडि बढाइने आश्वासन दिएको सांसद बडूको सचिवालयले जनाएको छ ।
दार्चुलाको असिगडा क्षेत्र नेपालको सुदूरपश्चिम क्षेत्रमा पर्ने एक रणनीतिक महत्त्वको नाकाका रूपमा चिनिन्छ। भारतको उत्तराखण्ड राज्यसँग प्रत्यक्ष जोडिएको यस स्थानमा निर्माण भएको मोटरेबल पुलले दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। अब जाँच चौकीको स्थापनाले सीमापार सुरक्षा, व्यापार अनुगमन, भन्सार लगायतका कार्यहरू व्यवस्थित गर्न सहज हुनेछ। यो पहल नेपाल–भारत सीमावर्ती क्षेत्रको दिगो विकास, सुरक्षाको प्रवर्द्धन तथा आर्थिक गतिविधिको सुदृढीकरणतर्फको महत्वपूर्ण पाइला मानिएको छ।






