कञ्चनपुरको बेल्डाँडीमा श्रीमती मृत अवस्थामा फेला, श्रीमान प्रहरी नियन्त्रणमा

कञ्चनपुर-  कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ स्थित सिहपाल टोलमा एक युवती झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्। मृतक १८ वर्षीया सम्झना भट्ट घरको झ्याल ढोका चुकुन लगाइएको अवस्थामा झुन्डिएको अवस्थामा आइतबार बिहान फेला परेकी हुन्। घटनापछि प्रहरीले उहाँका श्रीमान् पवन भट्टलाई नियन्त्रणमा लिई सोधपुछ थालेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार सम्झनाको शरिरमा चोटपटकका डामहरू देखिएकोले घटनालाई शंका गर्नुपर्ने अवस्था देखिएको छ। “प्रारम्भिक अनुसन्धानमा मृतकलाई कुटपिट गर्ने गरेको पाइएको छ,” प्रवक्ता बोहराले बताए।

सम्झनाका पिता भोजराज भट्टले छोरीलाई श्रीमान्ले निरन्तर मानसिक तनाव दिने र शारीरिक यातना गर्ने गरेको आरोप लगाउँदै आएका छन्। उनका अनुसार शनिबार मात्रै घरायसी विवादका कारण इलाका प्रहरी कार्यालय बेलडाँडीमा उजुरी गरिएको थियो। प्रहरीद्वारा समझदारी गराएर सम्झनालाई घर फर्काइएको थियो।

गत फागुन महिनामा प्रेम विवाह गरेर पवनसँग बस्न थालेकी सम्झना हाल एलबीई कक्षा १२ मा अध्ययनरत थिइन्। छोरीको शंकास्पद मृत्यु भएपछि भट्ट परिवार शोकमा डुबेको छ।

“छोरीको मृत्युको निष्पक्ष छानबिन होस्, दोषी उपर कडा कारबाही होस्,” मृतकका पिताले माग गरेका छन्।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्