हेटौंडा — बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिएका छन्। २०८१ साउन ९ मा पदभार सम्हालेका लामाले आज आइतबार एक वर्ष नौ दिनपछि पदत्याग गरेका हुन्।
नेपाली कांग्रेसबाट तामाङ समुदायको पहिलो मुख्यमन्त्री बनेका लामाले पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार राजीनामा दिएको बताएका छन्। साँझ ६ बजे प्रदेश सुशासन हलमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो कार्यकालमा भएका प्रगतिहरू प्रस्तुत गरे। आफूले इमान्दारिताका साथ काम गरेको दाबी गर्दै लामाले आफ्नै दलभित्रको प्रपञ्चका कारण सरकार छाड्नुपरेको बताए।
“म भाग्ने होइन,” लामाले भने, “तर यो घटनाक्रमले लोकतन्त्र र गणतन्त्रकै जग हल्लाउने संकेत गरेको छ।” उनको राजीनामापछि बागमती प्रदेशको सत्ता समीकरण फेरिन सक्ने अनुमान गरिएको छ।






