कांग्रेस सभापति देशकै नेता हो, सबैसँग संवाद गर्नुपर्छ : कोइराला

File Photo

 

विराटनगर — नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफू कुनै एक दलसँग मात्रै होइन, सबै दलसँग संवाद गर्ने पक्षमा रहेको स्पष्ट पारेका छन्। शनिबार विराटनगर–४ कांग्रेस समितिद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले सत्तारूढ र विपक्षी दलहरूबीचको समन्वय र संवादको आवश्यकता औंल्याए।

“मैले सभापतिजीलाई पटक–पटक भनेको छु— तपाईं कांग्रेसका मात्र होइन, देशकै नेता हो। तपाईं जति सीनियर नेता अहिले राजनीतिमा कोही छैन। सबै दलका नेतालाई बोलाएर संवाद गर्नुपर्छ,” कोइरालाले भने, “तर उहाँ (सभापति देउवा) मिलाउनुभएन, भन्नुभयो, अहिले एमालेसँग गठबन्धन छ, तिनीसँग मात्रै कुरा हुन्छ।”

उनले दलहरूसँगको संवादको परिधिलाई गठबन्धनको सीमामा मात्र नबाँध्न सुझाव दिए। “पहिले माओवादीसँग गठबन्धन हुँदा माओवादीसँग मात्रै, अहिले एमालेसँग छ भने एमालेसँग मात्रै? म यो मान्दिनँ। म माओवादी नेताहरूसँग पनि भेटेँ, भोलि मधेसी दलसँग पनि भेट्नेछु,” उनले स्पष्ट पारे। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेको प्रसङ्ग उल्लेख गर्दै उनले भेटलाई गलत तरिकाले व्याख्या गरिएको गुनासो गरे। “म भेट्न गएको सामाजिक सञ्जालमा धेरै गलत कुरा लेखियो। बरु चित्त नबुझे सोध्नुहोस्। अहिले त सामाजिक ओलीजी र विद्याजीको फाइट पनि देख्नुभएको होला नि,” उनले टिप्पणी गरे।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटबारे उनले संसद्मा भएको संवादको प्रसङ्ग पनि सुनाए। “मैले उहाँलाई सत्तापक्षको हो कि विपक्षको भनेर सोधेँ, उहाँले विपक्षमा छु भन्नुभयो। तर व्यवहार त सत्तापक्षजस्तो देखियो। अहिले विपक्षी त रास्वपा मात्रैजस्तो लाग्छ, भिडिरहेको देखिन्छ। बाँकी दल त छलफलमा हामीसँगै बसिरहेका छन्,” उनले भने।

उनले प्रष्ट पारे, “विद्या भण्डारीसँग मेरो संवाद त उहाँ राष्ट्रपति हुँदा पनि भइरहन्थ्यो। अहिले विराटनगरको सन्दर्भ झिकेर उहाँले केदार कार्की र नागेश कोइरालाको पनि कुरा गर्नुभयो। तर यसलाई लिएर सरकार गिराउन लागियो, शेरबहादुरजी विरुद्ध लागियो भन्नु गलत हो।”

अन्त्यमा डा. कोइरालाले प्रधानमन्त्री ओली प्रतिपक्षमा हुँदा पनि आफू घरमै भेट्न जाने गरेको स्मरण गर्दै सबै दलसँग संवादको संस्कार आवश्यक रहेको बताए।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्