काठमाडौं – व्यक्तिगत घटना दर्ताको प्रमाणपत्रमा रहेका नाम, थर, उमेरलगायत विवरणमा त्रुटि भए अब एक पटकका लागि सुधार गर्न पाइने भएको छ। सरकारले केही नेपाल ऐन संशोधनमार्फत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।
नयाँ व्यवस्थाअनुसार सम्बन्धित व्यक्तिले तोकिएको ढाँचामा निवेदन दिई स्थानीय पञ्जिकाधिकारी (वडा कार्यालय) मार्फत विवरण सच्याउन सक्नेछन्। यसअघि बालबालिकाको हकमा मात्रै एक वर्षभित्र विवरण सच्याउन सकिने प्रावधान थियो। अब सबै नागरिकले एकपटक विवरण सच्याउने अवसर पाउनेछन्।
सच्याइएको विवरणको जानकारी स्थानीय पञ्जिकाधिकारीले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागलाई पनि उपलब्ध गराउनुपर्नेछ। नयाँ व्यवस्था लागू भएसँगै नागरिकको तथ्यांक दर्तामा भएको त्रुटि सच्याउने बाटो सहज भएको छ।






