काठमाडौं – लामो समय सुक्खाग्रस्त बनेको मधेशका केही जिल्लामा अन्ततः भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गत २४ घण्टामा धनुषा, रौतहट, बारा लगायतका क्षेत्रमा उल्लेख्य वर्षा मापन गरिएको छ। धनुषाको तुल्सी केन्द्रमा ६३.८ मिलिमिटर र हर्दिनाथमा ५१ मिलिमिटर वर्षा भएको छ। यस्तै रौतहटको गौरमा ४४.६ र बाराको अमलेखगञ्जमा ४६.४ मिलिमिटर वर्षा मापन गरिएको छ।
बर्खाको समयमा पनि पानी नपरेर खेत सुक्खा बनेको, रोपाइँ प्रभावित भएको, तथा सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेको मधेशमा यो वर्षाले केही राहत ल्याएको छ। सर्लाहीमा ३७.६ र महोत्तरीको गौशालामा ३२.४ मिलिमिटर वर्षा मापन गरिएको छ। सिरहा र सप्तरीमा भने वर्षा थोरै मात्र भएको जनाइएको छ।
मौसमविद्का अनुसार आइतबार पनि मधेशमा मध्यमदेखि भारी वर्षा जारी रहनेछ। मनसुनको न्यून चापीय रेखा उत्तरतिर सर्दै गएकाले अझै केही दिन मौसम सक्रिय रहने अनुमान गरिएको छ। यस वर्षाले रोपाइँमा ढिलाइ भएको किसानहरूलाई राहत दिने विश्वास लिइएको छ।






