कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बिहीबार प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले समर्थन फिर्ता लिएपछि उनले पुनः विश्वासको मत लिएका हुन्। नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त समर्थनमा शाहले २९ मत पाए। एमालेको ११, कांग्रेसको १८ मतका साथै नाउपाका कैलाश चौधरीको मतले शाहलाई बहुमत दिलाएको हो। कुल ४५ जना सांसद सहभागी मतदानमा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र सांसदहरूले विपक्षमा मत दिएका थिए।
शाहले गत वर्ष पनि कांग्रेस–एमालेकै समर्थनमा मुख्यमन्त्री नियुक्त भई विश्वासको मत लिएका थिए। यसपटक नाउपाका मन्त्री रामेश्वर चौधरीमाथि अनुदानसम्बन्धी विवाद भएपछि शाहले उनलाई बर्खास्त गरेका थिए। त्यसपछि नाउपाले समर्थन फिर्ता लिएको थियो।संविधानअनुसार समर्थन फिर्ता भएपछि सरकार प्रमुखले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। यही व्यवस्था अनुसार शाहले मत लिएका हुन्।
यसबीच नाउपाको नेतृत्वमा समेत फेरबदल भएको छ। राष्ट्रिय भेलाबाट रेशम चौधरीका बुवा लालवीर चौधरी अध्यक्षमा चयन भएका छन् भने अघिल्ला अध्यक्ष रञ्जिता श्रेष्ठले उक्त भेलालाई अवैध बताउँदै आएकी छन्। नाउपाभित्रको विवादको प्रभाव प्रदेश सरकारमा पर्ने कि नपर्ने भन्ने चासोबीच शाहले विश्वासको मत लिएर सरकार बचाएका छन्। अब नाउपाको पुनः समर्थन प्राप्त हुने वा नहुने भन्ने टुंगो भने लाग्न बाँकी छ।






