काठमाडौँ – निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले एसईई २०८१ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र शिक्षकहरुलाई सम्मान गरेको छ। शनिवार काठमाडौँको बत्तीसपुतलीस्थित अनमोल फुडल्याण्डमा आयोजित कार्यक्रममा काठमाडौँ जिल्लाका विभिन्न विद्यालयबाट सर्वोत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी र २६ जना शिक्षकहरुलाई सम्मान गरिएको थियो।
नेसनल प्याब्सन काठमाडौँ जिल्ला द्वारा आयोजित सम्मान कार्यक्रममा काठमाडौँ जिल्ला अध्यक्ष अमृत कुमार खड्काको सभापतित्व र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको प्रमुख आतिथ्यता रहेको थियो। मन्त्री पन्तले कार्यक्रममा आफ्नो मन्तव्य दिँदै कक्षा ११ र १२ को अध्ययन नेपालमै सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो। उनले युवाहरूलाई कम उमेरमै विदेश पठाउनु हुँदैन भन्दै विदेश गएका युवा तेस्रो दर्जाको नागरिक बन्न पुगेको गुनासो पोख्नुभयो।

कार्यक्रममा विशेष अतिथि तथा नेसनल प्याब्सनका राष्ट्रिय अध्यक्ष सुवास न्यौपानेले एसईई २०८१ मा उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा आगामी पढाइमा अझै मेहनत गर्न सुझाव दिनुभयो। उनले निजि विद्यालयहरूको कारण एसईई मा उत्कृष्ट नतिजा आएको उल्लेख गर्दै राज्यले निजि विद्यालयप्रति सकारात्मक दृष्टिकोण राख्नुपर्ने औंल्याउनुभयो।
महासचिव प्रकाश खड्काले गुणस्तरीय शिक्षा प्रदान गर्न निजि लगानीमा सञ्चालित विद्यालयहरूको योगदान अतुलनीय रहेको भन्दै राज्यबाट त्यसको उचित मूल्यांकन हुनुपर्ने बताएका थिए। कार्यक्रममा नेसनल प्याब्सन काठमाडौँ जिल्ला उपाध्यक्ष प्रेम कुमार भुजेलले स्वागत मन्तव्य राखेका थिए भने सचिव रामबाबु सेढाईले कार्यक्रम संचालन गरेका थिए।
समारोहमा नेसनल प्याब्सन केन्द्रीय उपाध्यक्ष विष्णु पुडासैनी, सचिव मनोज कुमार श्रेष्ठ, केन्द्रीय सदस्य भीष्म पाण्डे, श्याम योन्जन, बागमती प्रदेश अध्यक्ष डिएन महतो, जिल्ला पदाधिकारी, नगर अध्यक्ष, सदस्य विद्यालयका प्रिन्सिपल, शिक्षक, अभिभावक लगायतको उपस्थिति रहेको थियो।
यसरी उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा शिक्षकलाई सम्मान गरेर नेसनल प्याब्सनले शिक्षाको गुणस्तर र निजी विद्यालयको महत्त्वलाई अझ प्रोत्साहन गर्ने प्रतिबद्धता जनाएको छ।







