मुख्यमन्त्री बहादुरसिंह लामा सभापति देउवालाई भेट्न काठमाडौँ आउँदै

काठमाडौँ — बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य बहादुरसिंह लामा पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न काठमाडौँ आउन लागेका छन्। बुधबार सम्पन्न संसदीय दलको नेताको निर्वाचनमा पराजित भएपछि उनले सभापतिलाई सम्पूर्ण परिस्थितिबारे जानकारी गराउन आफू काठमाडौँ आउन लागेको बताएका छन्।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि भएको निर्वाचनमा इन्द्र बानियाँले २२ मत ल्याएर विजयी हुँदा लामाले १४ मत प्राप्त गरेका थिए। ३७ सदस्यीय संसदीय दलमा एक मत बदर भएको थियो। लामाले उक्त परिणामलगत्तै आफूले पार्टी सभापतिलाई आवश्यक जानकारी गराउने उद्देश्यले काठमाडौँ आउने निर्णय गरेको बताए।

“सभापतिज्यूलाई संसदीय दलको नेताका लागि भएको निर्वाचन र अन्य गतिविधिबारे जानकारी गराउन आज काठमाडौँ आउँदैछु,” लामाले रातोपाटीसँग भने। देउवाले आफैं बोलाएको भनी चर्चा भएपनि लामा भने भन्छन्, “उहाँले बोलाउनु भएको छैन, म जानकारी गराउन आउन लागेको हुँ।”

नुवाकोट क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित लामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत हुन्। यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार बालुवाटारमा बोलाएको एमाले–कांग्रेस बैठकमा पनि बागमती प्रदेश सरकारको विषय उठान भएको छ। मुख्यमन्त्री परिवर्तनको सम्भावना, सत्ता सन्तुलन र दलहरूबीचको नयाँ समीकरणका सन्दर्भमा बागमतीको राजनीतिक स्थिरता एकपटक फेरि चर्चाको केन्द्रमा आएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्