चितवन – चितवनका विभिन्न क्षेत्रमा देखिएको विद्युत आपूर्तिको समस्याबारे जानकारी लिन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आज चितवन पुगेका छन्।
शनिबार चनौली सबस्टेशनबाट विद्युत कटौतीसम्बन्धी सूचना जारी भएपछि प्राधिकरणले लोडसेडिङ सुरु गरेको भन्दै आलोचना भएपछि शाक्य आफैं चितवन आइपुगेका हुन्। शाक्यको सचिवालयका इञ्जिनियर नारायण अर्यालका अनुसार शाक्यले भरतपुरको अवस्थाबारे सामान्य जानकारी लिएपछि पूर्वी चितवनको राप्ती नगरपालिका–१ मा रहेको हर्दी सबस्टेशनको निरीक्षणमा जाने कार्यक्रम छ।
हर्दीमा आइतबार राति २४ एमभीएको नयाँ ट्रान्सफर्मर जडान गरि परीक्षण सफल भइसकेको हर्दी स्टेशनका इन्चार्ज रोशन खनियाँले जानकारी दिए। उनका अनुसार केही प्राविधिक परीक्षणपछि लाइन जोड्ने तयारी भइरहेको छ।
नयाँ ट्रान्सफर्मर जडानपछि पूर्वी चितवनका अधिकांश क्षेत्रमा अब हर्दी सबस्टेशनबाटै विद्युत आपूर्ति गरिने छ। यसले भरतपुर–पूर्वतर्फ गएका लाइनको लोड घटाउने र सन्तुलन कायम गर्ने खनियाँले बताए। उनका अनुसार रत्ननगरको टाँडी र खैरहनी नगरपालिकाको चैनपुरमा रहेको सबस्टेशनलाई हर्दीबाट आपूर्ति दिएपछि भरतपुरको चनौली सबस्टेशनबाट सिधै देवनगर र जगतपुर जोडेर पश्चिम चितवन तथा माडीमा आपूर्ति गर्न सकिनेछ।
हाल देवनगरबाट टाँडी र पर्सातिर आपूर्ति भइरहेको छ। तर गर्मीयामसँगै माग उच्च भएका कारण टाँडी, खैरहनी, राप्ती, माडी र पश्चिम चितवनमा पटक–पटक विद्युत आपूर्तिमा समस्या आइरहेको छ। टाँडी र माडी क्षेत्रका स्थानीय बासिन्दाले विद्युत आपूर्ति अवरुद्ध भएको भन्दै विरोध जनाउँदै आएका छन्। चनौली सबस्टेशनले लाइन कटौतीको सूचना जारी गरेपछि लोडसेडिङको तालिका सार्वजनिक गरिएको भ्रम फैलिएको र यसबारे सामाजिक सञ्जालमा व्यापक आलोचना भएको प्राधिकरण स्रोतको भनाइ छ।
विद्युत प्राधिकरणका अनुसार चितवनको हाल देखिएको समस्या मंगलबारसम्म समाधान हुने अपेक्षा गरिएको छ।






