चितवनका केही क्षेत्रमा ६ घण्टा लोडसेडिङ सुरु, तीन फिडरमा फरक–फरक समय तालिका लागू

काठमाडौँ – अत्यधिक गर्मी र सिंचाइका लागि विद्युत् माग अत्यधिक बढेपछि चितवनका केही क्षेत्रमा आजदेखि लोडसेडिङ सुरु गरिएको छ।

नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले दिनमा दुईपटक गरी ६ घण्टा लोडसेडिङ गर्नुपर्ने अवस्था आएको जनाउँदै औपचारिक सूचना जारी गरेको छ।

बिजुली आपूर्ति समस्या नारायणी-माडी, मेघौली–विजयनगर–शुक्रनगर र जगतपुर–रामपुर फिडरहरूमा देखिएको हो। यी क्षेत्रमा अबदेखि फरक–फरक समयमा दैनिक ६ घण्टासम्म विद्युत् कटौती हुनेछ।

वितरण केन्द्रका अनुसार भरतपुर १३२/३३ केभी सब स्टेशनबाट आउने ३३ केभी डग कन्डक्टर तारमा अधिकतम ३०० एम्पिएरसम्म विद्युत् प्रवाह गर्न सक्ने क्षमता भए पनि हाल माग बढेर ४५० एम्पिएरसम्म प्रवाह भइरहेको छ, जसले प्रणालीलाई अप्ठ्यारोमा पारेको छ।

यस समस्याको दीर्घकालीन समाधानका लागि अघिल्लो आर्थिक वर्षमै बसेनी सब स्टेशनबाट वैकल्पिक आपूर्ति दिने गरी अर्को ३३ केभी प्रसारण लाइन निर्माणको काम भइरहेको वितरण केन्द्रले जनाएको छ।

लोडसेडिङ तालिका यसप्रकार छ:

  1. नारायणी–माडी फिडर:
    बिहान ६:०० – ९:००
    दिउँसो ३:०० – ६:००

  2. मेघौली–विजयनगर–शुक्रनगर फिडर:
    बिहान ९:०० – १२:००
    बेलुका ६:०० – ९:००

  3. जगतपुर–रामपुर फिडर:
    दिउँसो १२:०० – ३:००
    बेलुका ९:०० – १२:०० (मध्यरात)

प्राधिकरणले उपभोक्ताहरूलाई लोडसेडिङ अवधिमा वैकल्पिक व्यवस्थाको तयारी गर्न आग्रह गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्