कास्की – पोखरा–मुग्लिन सडक आयोजना अन्तर्गत पोखरा जामुने खण्डको भौतिक प्रगति ५५ दशमलव १० प्रतिशत पुगेको छ। वित्तीय प्रगति भने ४२ दशमलव ५० प्रतिशत रहेको आयोजनाले जनाएको छ। कुल ३८ दशमलव ८८ किलोमिटर लम्बाइको यस सडकखण्डमा हालसम्म ३७ दशमलव ७० किलोमिटर सडकमा एकतर्फी पहिलो तहको कालोपत्र सम्पन्न भइसकेको छ।
२६ दशमलव ३८ किलोमिटर सडक दुईतर्फी चार लेन र १० दशमलव ३२ किलोमिटर खण्डमा एकतर्फी दुई लेनको कालोपत्र भइसकेको छ।
वि.सं. २०७८ को भदौमा सुरु गरिएको यो सडक खण्डको निर्माण कार्यका लागि तोकिएको ठेक्का म्याद आगामी पुस महिनामा सकिँदैछ। तर, निर्माण कम्पनीले तोकिएको समयमै काम नगरेपछि अहिलेसम्म दुईपटक म्याद थपिएको हो । तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्म विस्तार गरिएको यस सडकमा आधा खण्ड छ लेन र आधा खण्ड चार लेनको हुनेछ।
पश्चिम खण्डमा पर्ने १३ वटा पुलमध्ये हालसम्म ११ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् भने बाँकी दुई पुलको निर्माण कार्य जारी छ। पुलहरूमध्ये तनहुँको म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा रहेका पुलको निर्माण कार्य सम्पन्न भइसकेको छ।







