काठमाडौँ – दार्चुलामा कृषक समूहको नाममा आएको कृषि अनुदान हिनामिनाको प्रयासमा संलग्न रहेको आरोपमा दुई जना सरकारी कर्मचारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा शैल्यशिखर नगरपालिका कृषि शाखाका प्रमुख दीपकराज विष्ट र भेटेरिनरी प्राविधिक जनकसिंह धामी रहेका छन्। धामी शैल्यशिखर नगरपालिकाका मेयर विजयसिंह धामीका छोरा हुन्।
दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश दाहालका अनुसार उनीहरूलाई बुधबार पक्राउ गरी लिखत सम्बन्धी कसुर (किर्ते), किर्ते र आपराधिक विश्वासघात अभियोगमा किटानी जाहेरी दर्ता गरिएको छ। जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।
‘ओखर पकेट क्षेत्र कार्यक्रम’ अन्तर्गत प्राप्त २ लाख २० हजार रुपैयाँको अनुदान हत्याउन उनीहरूले ग्लोबल आईएमई बैंकको गोकुलेश्वर शाखामा कृषक समूहका सचिव मन्जु धामी र कोषाध्यक्ष जानकी धामीको मृत्यु भएको भनी फर्जी पत्राचार गरी हस्ताक्षर परिवर्तन गर्ने प्रयास गरेका थिए। यस प्रकरणमा संलग्न दुवै व्यक्तिले कागज बनावट तथा असली विवरण लुकाएर अनुदान रकम दुरुपयोग गर्ने उद्देश्यले फर्जी काम गरेको आरोप प्रहरीले लगाएको छ।
प्रहरीका अनुसार अनुसन्धानपछि थप अभियुक्तहरू पनि सार्वजनिक हुन सक्ने सम्भावना छ।






