विदेश भ्रमणमा ३ हजार डलरसम्म सटही सुविधा, आवास र सेयर कर्जाको सीमा पनि बढ्यो

काठमाडौँ — अब भारतबाहेक तेस्रो मुलुकमा भ्रमणमा जाने नेपाली नागरिकले प्रतिव्यक्ति ३ हजार अमेरिकी डलरसम्मको विदेशी मुद्रा सटही गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको मौद्रिक नीतिमार्फत यस्तो व्यवस्था लागू गरेको हो । यसअघि यो सीमा २५ सय डलर थियो । राष्ट्र बैंकले बुधबार परिपत्र जारी गर्दै नयाँ सीमा बिहीबारदेखि लागू भएको जनाएको छ ।

नयाँ व्यवस्था अनुसार औपचारिक भ्रमणका लागि सटही सुविधा विदेशी मुद्राको खातामा जम्मा गरी वा नयाँ खाता खोलीसमेत प्रदान गर्न सकिनेछ ।

यस्तै, मौद्रिक नीतिअनुसार निजी आवासीय घर निर्माण तथा खरिदका लागि प्रवाह हुने कर्जाको सीमा पनि २ करोडबाट बढाएर ३ करोड कायम गरिएको छ । साथै, पहिलो घर निर्माण वा खरिदमा कर्जा मूल्य अनुपात ८० प्रतिशत र अन्य घरका लागि ७० प्रतिशतसम्म कायम गर्न सकिनेछ ।

त्यस्तै, सेयर धितो राखी लिइने व्यक्तिगत कर्जाको सीमा २५ करोड रुपैयाँसम्म पुर्‍याइएको छ । यसले पूँजी बजारमा लगानीकर्ता आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम लगायतका क्षेत्रमा सञ्चालनमा रहेका व्यवसाय तथा त्यहाँका नागरिकले लिएको व्यक्तिगत तथा आवासीय कर्जालाई पुनर्तालिकीकरण वा पुनःसंरचना गर्न सकिने प्रावधान पनि कार्यान्वयनमा आएको छ ।

राष्ट्र बैंकको परिपत्र अनुसार, यस्तो व्यवस्था २०८२ असोज मसान्तभित्र लागू भइसक्नुपर्नेछ । यस प्रक्रियामा कम्तीमा १० प्रतिशत ब्याज असुल गरेर ऋणीको नगद प्रवाह तथा आम्दानीको आधारमा कर्जा पुनः संरचना गर्न सकिनेछ ।

विशेषज्ञहरूका अनुसार, सटही सीमा, आवास कर्जा र सेयर कर्जाको सीमा वृद्धिले पर्यटन, घरजग्गा तथा पूँजी बजार क्षेत्रलाई चलायमान बनाउने अपेक्षा गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्