राप्रपामा आन्तरिक द्वन्द्व चुलियो, इतर समूहको नक्सालमा छुट्टै भेला

काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आन्तरिक विवाद झनै चर्किंदै गएको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध असन्तुष्ट नेताहरूको समूहले शुक्रबार काठमाडौंको नक्सालस्थित महामन्त्री डा. धवलशम्शेर राणाको सचिवालयमा छुट्टै भेला गर्दै लिङ्देन नेतृत्वको शैलीप्रति गम्भीर असन्तोष व्यक्त गरेका छन्।

भेलामा सहभागी नेताहरूले अध्यक्ष लिङ्देनले पार्टीको विधानविपरीत निर्णयहरू गर्दै स्वेच्छाचारी शैलीमा संगठन सञ्चालन गरिरहेको आरोप लगाएका छन्। उनीहरूले लिङ्देनका पछिल्ला निर्णयहरू विधानसम्मत नभएको भन्दै निर्वाचन आयोगलाई जानकारी गराउने तयारीसमेत गरेको स्रोतले जनाएको छ।

भेलामा लिङ्देनद्वारा प्रवक्ताबाट सगुन सुन्दर लावतीको बर्खास्ती र अनुशासन समिति संयोजक नवराज सुवेदीलाई हटाएर रोशन कार्कीलाई नियुक्त गरिएको निर्णयप्रति कडा आपत्ति जनाइएको छ। इतर समूहले उक्त निर्णयलाई ‘अवैधानिक र एकलौटी’ भन्दै अस्वीकार गरेको छ। राप्रपाको विधानअनुसार यस्ता निर्णयहरू केन्द्रीय समितिको अनुमोदनमा आधारित हुनुपर्ने भए पनि सो प्रक्रिया नअपनाइएको भन्दै उनीहरूले लिङ्देनको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका छन्।

नक्सालस्थित भेलामा राप्रपाका पूर्वअध्यक्ष तथा निर्देशन समिति अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, पूर्वमन्त्री हरिबहादुर बस्नेत, वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, उपाध्यक्ष मुकुन्दश्याम गिरी, महामन्त्री डा. धवलशम्शेर राणा, महामन्त्री कुन्ती कुमारी शाही, पूर्वप्रवक्ता सगुन सुन्दर लावती, सहायक प्रवक्ता प्रविनकुमार थोकर तामाङ, सहायक महामन्त्री प्रेम बलायर, ऋषिराज देवकोटा, सौरेन्द्रबहादुर शाहसहित ५० भन्दा बढी नेताहरूको उपस्थिति थियो।

राप्रपामा पछिल्लो समय अध्यक्ष लिङ्देनको निर्णयशैलीप्रति असन्तुष्टि झनै बढ्दै गएको छ। विधानबाहिर गएर गरिएका निर्णय, नेतृत्वको एकलौटीपन र समावेशी संवादको अभावका कारण पार्टीभित्र दरार उत्पन्न भएको इतर समूहको ठहर छ। अब यो विवाद कहाँ पुग्छ भन्नेमा राजनीतिक वृत्तले चासो देखाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्