काठमाडौं — झुटा विवरण तयार गरी कम गुणस्तरको कम्प्युटर सामग्री खरिदमा झन्डै १६ करोड रुपैयाँ बराबरको भ्रष्टाचार गरेको आरोपमा राष्ट्रिय सूचना प्रविधि केन्द्र (NTC) का तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ।
०७६ माघ १५ गते भएको ठेक्का सम्झौतामा उच्च गति कम्प्युटिङ उपकरण खरिद गर्ने उल्लेख भए पनि कमसल गुणस्तरका सामग्री खरिद गरिएको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा ठूला अनियमितता देखिएको हो। मुद्दामा पौडेलसँगै केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोखरेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निम बहादुर वली र ठेक्का पाएको वर्ल्ड डिस्ट्रीब्युसन नेपाल प्रालि (कान्तिपथ) का अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण श्रेष्ठ समावेश छन्।
अख्तियारले आव ०७६/७७ मा उच्च कम्प्युटिङ पूर्वाधार आपूर्ति, ढुवानी, जडान तथा परीक्षण सञ्चालनका लागि भएको सम्झौतामा कुल १५ करोड ८८ लाख ५० हजार रुपैयाँको भ्रष्टाचार भएको ठहर गर्दै सोही बराबरको बिगो कायम गरेर दोषीहरूमाथि भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम कारबाही गर्न माग गरेको हो। अख्तियारद्वारा विशेष अदालतमा दायर आरोपपत्रअनुसार, खरिद गरिएको स्टोरेज कन्ट्रोलरमा प्राविधिक मापदण्डअनुसार २.४ गिगाहर्ज क्षमताको २४ कोर प्रोसेसर जडान हुनुपर्नेमा २.१ गिगाहर्जको प्रोसेसर जडान गरिएको पाइएको छ।
प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार २.४ गिगाहर्जको प्रोसेसर २.१ गिगाहर्जको तुलनामा १४.२८ प्रतिशत बढी कार्यक्षमतायुक्त हुन्छ। सोही कारण गुणस्तरीय उपकरण देखाएर कमसल सामग्री जडान गरिएको पुष्टि भएको हो। यस घटनाले सार्वजनिक निकायभित्र प्रविधि खरिद प्रक्रियामा समेत गम्भीर भ्रष्टाचार भइरहेको उजागर गरेको छ। विशेष अदालतमा दायर मुद्दाको सुनुवाइपछि दोषी प्रमाणित भए उनीहरूलाई कडा सजायको व्यवस्था हुने प्रावधान रहेको छ।






