चितवन— चितवनको रत्ननगर नगरपालिका–७ स्थित बूढीराप्ती नदीमा बेपत्ता भएका एक बालकको शव शुक्रबार बिहान फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रत्ननगर–१५ माधवपुरका १५ वर्षीय अनमोल लम्सालको शव बिहान करिब ५:१५ बजे पडेरिया पुलबाट करिब २ किलोमिटर चित्रसारीतर्फ बाँसघारी नजिक फेला परेको हो।
अनमोल बिहीबार दिउँसो करिब २ बजे मामा घर गएका बेला बूढीराप्ती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए। खोजी कार्य जारी रहँदा शुक्रबार बिहान उनको शव फेला परेको प्रहरीले जनाएको छ।
शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







