काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो सिजनका लागि काठमाडौं गोर्खाजले अनुभवी प्रशिक्षक मोन्टी देसाईलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अघिल्लो सिजन बसन्त शाहीलाई जिम्मेवारी दिएको गोर्खाजले यसपटक नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक देसाईलाई अनुबन्ध गरेको हो। नेपाली क्रिकेटमा गहिरो छाप छोडेका देसाई यसअघि दुई वर्ष नेपाली टोलीका मुख्य प्रशिक्षक थिए। उनले सन् २०२३ देखि २०२५ अप्रिलसम्म राष्ट्रिय टोली सम्हालेका थिए। यस अवधिमा नेपालले एकदिवसीय मान्यता जोगाउनुका साथै ऐतिहासिक सफलता हात पारेको थियो।
देसाईको नेतृत्वमा नेपालले आइसिसी विश्वकप लिग-टु का १२ मध्ये ११ खेल जित्दै सनसनी मच्चाएको थियो। यसले नेपाललाई चार वर्षका लागि एकदिवसीय मान्यता सुरक्षित गराएको थियो। त्यसपछि नेपालले एसिसी प्रिमियर कप जित्दै एसिया कपमा स्थान बनायो, जहाँ नेपालले भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गरेको थियो। यस्तै, मोन्टीकै निर्देशनमा नेपालले घरेलु मैदानमा भएको छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो पटक टी–२० विश्वकपमा स्थान बनाएको थियो। अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न टी–२० विश्वकपमा नेपालले साहसिक खेल प्रदर्शन गरेको थियो।
एनपीएलको दोस्रो सिजन आगामी नोभेम्बरमा हुँदैछ भने त्यसअघि अगस्टमा मिनि अक्सनको तालिका छ। देसाई प्रशिक्षक बनेपछि काठमाडौं गोर्खाजले प्रतिस्पर्धामा नयाँ ऊर्जा पाउने अपेक्षा गरिएको छ। प्रशिक्षकको रूपमा पुनरागमनबारे देसाईले उत्साह व्यक्त गर्दै नेपाली क्रिकेटप्रतिको माया र सम्झनालाई पुनः जीवन्त बनाउने अवसरका रूपमा लिएका छन्।






