त्रिशूली नदी किनारमा अन्दाजी ५० वर्षीय पुरुषको शव फेला

सांकेतिक तस्बिर

काठमाडौं— चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–६ कालीखोलास्थित त्रिशूली नदीको किनारमा बिहीबार बिहान एक अज्ञात पुरुषको शव फेला परेको छ। प्रहरीका अनुसार अन्दाजी ४५ देखि ५० वर्ष उमेर समूहका उक्त पुरुषको शव केही अंगविहीन अवस्थामा फेला परेको हो।

स्थानीय बासिन्दाले त्रिशूली नदीको किनारमा शव देखिएको जानकारी दिएपछि ईलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रारम्भिक अनुसन्धानपछि शवलाई पोस्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रहरीले हालसम्म शवको पहिचान खुल्न नसकेको बताएको छ। तर, २४ असारमा रसुवामा आएको भीषण बाढीपछि हराइरहेका व्यक्तिहरूमध्ये एक हुन सक्ने अनुमान गरिएको छ। बाढीले विभिन्न स्थानमा जनधनको क्षति पुर्याएको थियो र अझै केही व्यक्ति बेपत्ता रहेका छन्।

प्रहरीले शवको पहिचान खुलाउनका लागि आसपासका जिल्ला प्रहरी कार्यालयहरूसँग समन्वय गर्दै खोजी प्रक्रिया अघि बढाएको छ। साथै, बाढीका कारण बेपत्ता भएका व्यक्तिहरूका परिवारलाई शवको पहिचानका लागि सम्पर्क गर्न समेत अनुरोध गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्