गृहमन्त्रीको प्रश्न: रवि लामिछाने अमेरिका भिजिट भिसामा गए वा होइन ?

काठमाडौं – गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अमेरिका जाँदा कुन प्रकारको भिसामा गएका थिए भन्ने विषयमा स्पष्ट जानकारी दिन आग्रह गरेका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै गृहमन्त्री लेखकले लामिछाने भिजिट भिसामा अमेरिका गएका हुन् कि होइनन् भन्ने विषयमा जानकारी माग गरेका हुन्। उनले आफूले लामिछाने भिजिटरको रूपमा अमेरिका गएको सुनेको उल्लेख गर्दै त्यसबारे प्रष्ट पार्नुपर्ने आवश्यकता औँल्याए।

“माननीय रवि लामिछानेजी जो सम्मानित सदनको सदस्य पनि हुनुहुन्थ्यो, उहाँ कुनै समय संयुक्त राज्य अमेरिकामा भिजिटरको रूपमा जानुभएको थियो अरे भन्ने सुनेको थिएँ,” मन्त्री लेखकले भने, “उहाँ भिजिटरको रूपमा अमेरिका जानुभएको हो कि होइन? भिजिट भिसा वा अन्य कुनै भिसामा जानुभएको हो भनेर जानकारी दिन अनुरोध गर्दछु।”

उनले भिजिट भिसाको दुरुपयोग विषयमा नैतिकताको प्रश्न पनि उठाए। “भिजिट भिसामै गएर सोही देशको नागरिकता लिएर बस्न पाइन्छ कि पाइँदैन? भिजिट भिसाको दुरुपयोग गर्ने पार्टीको नेताका कार्यकर्ताले अर्कोलाई ज्यादा नैतिकताको पाठ पढाउन सक्छन्?” भन्दै मन्त्री लेखकले प्रतिप्रश्न गरे।

उनले नैतिकताको विषयमा आत्मआलोचना जरुरी भएको पनि बताए। “नैतिकताको प्रश्न अरूबाट अपेक्षा गर्ने हो कि आफूबाट प्रारम्भ गर्ने?” भन्दै उनले प्रतिपक्षतर्फ संकेत गरेका थिए।

रवि लामिछानेको अमेरिकी नागरिकता सम्बन्धी विषय अघिल्लो सरकारको कार्यकालमा विवादको केन्द्रमा थियो। उनले अमेरिकी नागरिकता लिएको पुष्टि भएपछि नेपाली नागरिकता त्याग नगरेको ठहर गर्दै सर्वोच्च अदालतले उनलाई सांसद पदबाट अयोग्य ठहर गरेको थियो। त्यसपश्चात् पुनः नागरिकता लिएर उनी उपनिर्वाचनमार्फत प्रतिनिधिसभामा विजयी भएका थिए।

गृहमन्त्री लेखकको पछिल्लो प्रश्नसँगै लामिछानेको विगतको भिसा, नागरिकता र नैतिक दाबीसम्बन्धी बहस फेरि चर्चामा आउने देखिन्छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्