काठमाडौं – काठमाडौं महानगरपालिका–६ स्थित बौद्धको नयाँबस्तीबाट १ करोड ४४ लाख नेपाली रुपैयाँसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्। पक्राउ परेका वाङ जियान नामक व्यक्ति बोधिचित्तको माला खरिद गर्न नेपाल आएको दाबी गर्दै आएका छन्। आइतबार राति करिब १० बजे जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले वाङ जियान बसोबास गरिरहेको डेरामा छापा मारेको थियो। छापाका क्रममा प्रहरीले स्रोत खुल्न नसकेको ठूलो मात्राको नगद रकम फेला पारेको हो।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहोरा अनुसार, वाङले आफू बोधिचित्तको माला खरिद गर्न आएको बताए पनि रकमको श्रोत प्रमाणित नहुँदा उनलाई नियन्त्रणमा लिइएको हो। “बोधिचित्त माला किनबेचको सिजन पनि हो भन्ने देखिए पनि सो रकम वैध माध्यमबाट ल्याइएको प्रमाण देखिएको छैन,” उनले भने।
प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा यो रकम हुण्डी कारोबारमार्फत भित्रिएको हुन सक्ने आशंका गरेको छ। वाङ करिब डेढ महिनाअघि मात्रै भिजिट भिसामा नेपाल आएका थिए। अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार, उनी भिसा परिवर्तन गरी व्यवसायिक भिसामा जाने तयारीमा रहेको बताएका छन्। काठमाडौंका एसएसपी विश्वराज अधिकारीका अनुसार, जिल्ला अदालत काठमाडौंबाट आवश्यक म्याद लिएर थप अनुसन्धान अगाडि बढाइएको छ। “पक्राउ परेका व्यक्तिसँगको रकम, उनको गतिविधि र नेपालभित्रको सम्भावित संलग्नताको बारेमा विस्तृत जाँच भइरहेको छ,” अधिकारीले जानकारी दिए।
बोधिचित्तको बढ्दो व्यापार र शंकास्पद कारोबार
बोधिचित्त माला विशेषगरी तामाङ र हिमाली क्षेत्रका समुदायमा धार्मिक एवं सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिन्छ। सन् २०१३ तिर तिब्बती धर्मगुरु दलाई लामाको प्रवचनपछि यसको अन्तर्राष्ट्रिय बजारमा मूल्य आकस्मिक रूपमा बढेको बताइन्छ। चीन लगायतका देशमा बोधिचित्त माला अत्यधिक महँगो मूल्यमा बिक्री हुने गरेकाले नेपालका पहाडी क्षेत्र विशेषगरी काभ्रेपलाञ्चोकको तिमाल क्षेत्रबाट अवैध रूपमा निकासी हुँदै आएको स्थानीयवासीहरू बताउँछन्।
बोधिचित्तको बढ्दो व्यापारसँगै लुकिछिपि हुने कारोबार, अवैध सङ्कलन र तस्करीसम्बन्धी घटनाहरू पनि बेलाबेला सार्वजनिक भइरहन्छन्। पछिल्लो पक्राउलाई पनि सोही सन्दर्भमा जोडेर अनुसन्धान सुरु गरिएको प्रहरी स्रोतले जनाएको छ।






