काठमाडौँ – चीनतर्फबाट आएको आकस्मिक बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति भएको छ। घटनामा हालसम्म १८ जना बेपत्ता भएका छन् भने ९ जनाको उद्धार गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले संयुक्त रूपमा खोज तथा उद्धार कार्य जारी राखेको छ।
सशस्त्र प्रहरी बलका अनुसार, बेपत्ता हुनेहरूमा नेपाल प्रहरीका तीन सुरक्षाकर्मी समेत छन्।
-
प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ
-
प्रहरी जवान मुन्ना ठाकुर
-
प्रहरी जवान लोकेन्द्र बोहोरा
यसैगरी, ६ जना चिनियाँ नागरिक समेत बेपत्ता भएको सशस्त्र प्रहरी बलले पुष्टि गरेको छ। उनीहरूको नामावली यसप्रकार छ:
-
YU YUE
-
LI HUAQING
-
YANG CHUAN
-
YU HAI HANG
-
YOU XIAO QIU
-
JOU YONG
अन्य बेपत्ता हुने नेपाली नागरिकहरूमा:
-
जिपन चौधरी, सन्तोष दइत, बुद्धिराम थारु, लक्ष्मीनारायण थारु, सुरेश थारु (सबै बर्दिया स्थायी बासिन्दा)
-
नरेन्द्र विक (बाग्लुङ)
-
कन्टेनर चालक फुर्वा लामा, मिक्चर चालक गोविन्द मोक्तान, र हाइलक्स चालक लोकमान तामाङ रहेका छन्।
गएराति आएको बाढीले नेपाल–चीन सिमाना जोड्ने मितेरी पुल, भन्सार यार्ड, र आसपासका संरचनामा ठूलो क्षति पुर्याएको छ।
साथै, रसुवागढी सुख्खा बन्दरगाहमा पार्किङमा राखिएका ७ वटा इभी (इलेक्ट्रिक) गाडीहरू पनि बाढीले बगाएको जानकारी प्राप्त भएको छ।
रसुवागढी हाइड्रोपावरको ड्याम र कर्मचारी क्याम्पमा समेत बाढीले क्षति पुर्याएको छ। ड्याम क्षेत्रमा संरचनागत जोखिम बढेकाले उच्च सतर्कता अपनाइएको छ।
हाल सुरक्षा निकायहरूको टोली प्रभावित क्षेत्रमा खटिई खोज, उद्धार र राहत कार्यमा संलग्न छ। भौगोलिक कठिनाइ, तीव्र बहाव र लगातार वर्षाले उद्धार कार्यमा चुनौती थपिएको भए पनि प्रयास अविच्छिन्न रूपमा जारी रहेको जनाइएको छ।
सरकारले घटनास्थलमा उच्चस्तरीय टोली पठाउने तयारी गरिरहेको छ भने क्षतिको विस्तृत विवरण संकलन कार्य पनि जारी छ।






