काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा पुनः प्रवेश गरेसँगै आफूले पाउँदै आएका सरकारी सेवासुविधा फिर्ता गर्ने तयारी थालेकी छन्। नेकपा (एमाले) की नेतृ समेत रहेकी भण्डारीले गत १४ असारमा मदन जयन्तीको अवसरमा पार्टी सदस्यता नवीकरण गर्दै सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी थिइन्।
शितल निवास छाडेर निजी निवास फर्किसकेकी भण्डारीले अब बाँकी रहेका सेवा सुविधा पनि फिर्ता गर्न लागेकी हुन्। उनका निकट स्रोतका अनुसार, आगामी १ साउनदेखि लागू हुने गरी सेवासुविधा फिर्ता गर्ने पत्र पठाउने तयारी भइरहेको छ।
हालसम्म सरकारले उनलाई दुई जना स्वकीय सचिवको तलब, सुरक्षाकर्मी बस्ने घरको भाडा तथा इन्धन खर्च बेहोर्दै आएको छ। यद्यपि शितल निवास छाडेपछि उनले निवास खर्च तथा अन्य सुविधाहरू लिन अस्वीकार गर्दै आएकी थिइन्।
पूर्वराष्ट्रपतिका रूपमा रहेका संवैधानिक तथा कानुनी सुविधा त्याग गर्दै राजनीतिमा फर्किन लागेको यो कदमलाई केही विश्लेषकहरूले राजनीतिक सक्रियताका लागि ‘नैतिक सन्देश’का रूपमा पनि हेरेका छन्।
एमालेका शीर्ष नेताहरूले पनि भण्डारीको पुनः सक्रियता पार्टीको सशक्तिकरणमा योगदान हुने बताएका छन्।