दाउन्ने सडक खण्डमा वर्षाका बेला राति गाडी चलाउन रोक

काठमाण्डौ – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने सडक खण्डमा पानी पर्ने समयमा राति गाडी सञ्चालनमा रोक लगाइएको छ। नवलपरासी प्रहरीले दिएको जानकारीअनुसार, हिजो बेलुकी ७ बजेदेखि बन्द गरिएको सडक आज बिहान ५ बजे पुनः खुलाइएको हो।

प्रहरीका अनुसार, बिनयी खोलामा बाढी आउँदा सवारी साधन फस्ने जोखिम हुने भएकाले वर्षा भइरहेका बेलामा सुरक्षा उपायस्वरूप सडक बन्द गरिएको हो। यसअघि पनि सडक डिभिजन कार्यालय भरतपुरले सार्वजनिक सूचना जारी गर्दै बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन रोक्न निर्देशन दिएको थियो।केही दिनसम्म भारी वर्षा नहुँदा सडकमा गाडी निर्वाध रूपमा चलिरहेका थिए। तर, पछिल्लो समय पानी पर्न थालेपछि पुनः जोखिम बढेपछि प्रहरीको पहलमा रातको समयमा गाडी सञ्चालन रोकिएको हो।

६ महिनाअघि बिनयी खोलामा रहेको फलामे पुल भत्किएपछि, त्यसको केही उत्तरतर्फ डाइभर्सन बनाएर सवारी सञ्चालन हुँदै आएको छ। पानीको सतह घटेपछि बुधवारदेखि डाइभर्सनमार्गबाट गाडी गुड्न थालेका थिए, तर वर्षा बढेपछि फेरि रोक लगाइएको हो। यसैबीच, राजमार्ग फराकिलो बनाउने कामसँगै बिनयी खोलामा नयाँ पक्की पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। दुई हप्ताअघि पुलको ढलान कार्य सम्पन्न भएको हो। सडक विभागका अनुसार ढलानपछि चार हप्तापछि मात्र पुलमा गाडी गुड्न मिल्ने भएकाले आगामी असारको अन्त्यसम्म नयाँ पुल सञ्चालनमा आउने अपेक्षा गरिएको छ।

पूर्वी नवलपरासीको दुम्कीबास र पश्चिम नवलपरासीको बर्दघाट बजारबीचको १४ किलोमिटर लामो दाउन्ने सडक खण्ड अहिले सबैभन्दा बढी समस्याग्रस्त बनेको छ। घुम्ती मोड, उकालो ओरालो र हिलाम्य सडकका कारण यो खण्ड बारम्बार अवरुद्ध हुने गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्