धनगढी– कैलाली कारागारमा कैदीको रहस्यमय मृत्यु प्रकरणमा नेपाल प्रहरीका एक प्रहरी नायब निरीक्षक (सई) हरजीत नाथ पक्राउ परेका छन्। डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिस सिंह पालीको मृत्यु घटनामा संलग्न रहेको आशंकामा जिल्ला प्रहरी कार्यालय कैलालीले नाथलाई नियन्त्रणमा लिएको हो।
प्रहरी प्रवक्ता डीएसपी राजकुमार सिंहका अनुसार, मृतक पक्षले दिएको किटानी जाहेरीका आधारमा नाथलाई पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखिएको हो। पक्राउ परेका सई नाथ पालीविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दा दायर गर्ने वादी पक्षसमेत रहेका थिए। सोही मुद्दामा जिल्ला अदालत कैलालीले पालीलाई १० दिन कैद र दुई लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।
मृतक पालीकी श्रीमती जानकी साउँदले पति हरिसको कारागारभित्रै योजनाबद्ध हत्या गरिएको आरोप लगाउँदै प्रहरीसहित पाँच जनाविरुद्ध जाहेरी दिएकी थिइन्। तर, प्रहरीले जाहेरी सच्याउन आग्रह गरेपछि दोस्रो दिन पुनः नाथविरुद्ध मात्रै जाहेरी दर्ता गरिएको हो।
पालीलाई प्रहरीले २९ जेठमा डडेल्धुराबाट पक्राउ गरी ३० गते धनगढी ल्याएको थियो। अदालतमा पेश गरिएको असार १ गतेकै दिन उनलाई कारागार चलान गरिएको थियो। असार २ गते राति साढे १० बजे, कारागारको बाथरुम नजिकै अचेत अवस्थामा भेटिएका पालीलाई सेती प्रादेशिक अस्पताल ल्याइए पनि सोही राति उनको मृत्यु भएको थियो।
शरीरमा चोटपटक देखिएको भन्दै परिवारले घटनालाई योजनाबद्ध हत्या भनेको छ। पीडित पक्षले जाहेरी दर्ता गर्न पाएपछि मात्र शव बुझ्ने अडान लिएको थियो। अब शवको पोस्टमार्टम गरी परिवारलाई बुझाइने प्रहरीले जनाएको छ।
घटनाले प्रहरी र कारागार प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न उठाउँदै कारागारभित्रको सुरक्षा अवस्था र पारदर्शितामाथि समेत चासो पैदा गरेको छ।






