लोक सेवा आयोगले ७५औँ वार्षिकोत्सव ‘हीरक महोत्सव’ भव्य रूपमा मनाउदैँ

काठमाडौँ – नेपाल सरकारको प्रशासनिक सेवा प्रविष्टिको मेरुदण्ड मानिने लोक सेवा आयोगले आज आफ्नो ७५औँ स्थापना दिवस ‘हीरक महोत्सव’का रूपमा विविध कार्यक्रमसहित मनाउदैँ छ। आयोगले आँखा शिविर, रक्तदान, प्रतिभा सम्मानजस्ता सप्ताहव्यापी गतिविधि सफलतापूर्वक सम्पन्न गरिसकेको छ।

केन्द्रीय समारोह राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा काठमाडौँमा सम्पन्न भएको हो। आयोगले देशभरका आफ्ना १४ कार्यालयहरूमा समेत महोत्सवसम्बन्धी कार्यक्रम आयोजना गरेको जनाएको छ। आयोगले वर्षभर विभिन्न कार्यक्रम गर्दै महोत्सवलाई व्यवस्थित रूपमा अगाडि बढाउने योजना बनाएको छ।

लोक सेवा आयोग संविधानबद्ध स्वतन्त्र निकाय हो, जसले निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सङ्घीय सेवामा पदपूर्तिका लागि खुला प्रतिस्पर्धात्मक परीक्षा सञ्चालन गर्दै आएको छ।

आयोगका प्रवक्ता गीताकुमारी होमेगाईँका अनुसार, हीरक महोत्सवको अवसरमा आयोगको प्रतीक चिह्न प्रयोग गरी वर्षभर कार्य सम्पादन गरिनेछ। यसै सन्दर्भमा आयोगको सभाहललाई करिब ३० वर्ष सेवा गरी आयोगका सचिव बनेका भूवनमान सिंह प्रधानको नाममा नामकरण गरिएको छ।

“योग्यता, स्वच्छता, निष्पक्षता: लोक सेवा आयोगको प्रतिबद्धता” भन्ने आदर्श वाक्य बोकेको आयोगले कर्मचारी छनोटको निष्पक्ष र पारदर्शी प्रणालीको उदाहरणीय अभ्यास गर्दै आएको छ।

आयोगले पाठ्यक्रम निर्माणदेखि प्रश्नपत्र तयार पार्ने, परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन तथा सफल उम्मेदवारको सिफारिससम्मका सम्पूर्ण प्रक्रिया सम्हाल्दै आएको छ। साथै, कर्मचारी सेवा सर्तसँग सम्बन्धित कानुन निर्माण, संशोधन, कार्यान्वयन, बढुवा, कारबाही, अवकाश र स्थानान्तरणजस्ता विषयमा सरकारलाई परामर्श दिने कार्य पनि आयोगले गर्दै आएको छ।

संविधानले लोक सेवा आयोगलाई स्वतन्त्र र निष्पक्ष निकायको हैसियत दिएको छ, जसमा पदाधिकारीहरूको नियुक्ति, कार्यकाल र हटाउने प्रक्रियासमेत स्पष्ट रूपले उल्लेख छ।

आयोगले नेपालको सार्वजनिक प्रशासनमा योग्यतामा आधारित प्रणालीको स्थापनामार्फत भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन र दक्ष जनशक्ति विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

लोक सेवा आयोगको स्थापना २००८ असार १ गते अन्तरिम संविधान अन्तर्गत ‘पब्लिक सर्भिस कमिसन’को नाममा भएको थियो। राणा शासनको अन्त्यपछि स्थापित आयोगले आधुनिक, व्यावसायिक र निष्पक्ष प्रशासनको जग बसाल्ने कार्यमा उल्लेखनीय भूमिका खेलेको हो।

सुरुवाती चुनौतीहरूबीच सीमित स्रोतसाधनका बाबजुद आयोगले योग्यता प्रणाली स्थापित गर्दै प्रभावकारिता विस्तार गर्दै ल्याएको छ। आजको दिनसम्म आइपुग्दा आयोगले व्यावसायिक, पारदर्शी र उत्तरदायी निजामती तन्त्र निर्माणमा निर्णायक योगदान दिएको छ।

लोक सेवा आयोगको ७५ वर्षे यात्रा नेपालको प्रशासनिक इतिहासको एक उज्यालो पाटोका रूपमा स्मरणीय रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्