काठमाडौं – गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफू निर्दोष रहेको दाबी गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा मन्तव्य राख्दै उनले आफूविरुद्ध नियोजित र षड्यन्त्रपूर्ण आक्रमण भएको बताएका हुन्।
“उक्त कार्यमा मेरो कुनै संलग्नता छैन, हुन पनि सक्दैन,” मन्त्री लेखकले भने, “लोकतन्त्र र सुशासनका लागि वर्षौंदेखि लडिरहेको म एक व्यक्ति हुँ। संवैधानिक निकायको काममा सघाउने मेरो दायित्व हो।”
उनले आफूविरुद्ध नियोजित हमला भएकोप्रति खेदसमेत व्यक्त गरे। गृहमन्त्रीको मन्तव्यका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले नाराबाजी गर्दै अवरोध जारी राखेका थिए।
तर अवरोधकैबीच सभामुख देवराज घिमिरेले संसद् बैठक अघि बढाएका थिए। यस क्रममा माओवादी प्रमुख सचेतक हितराज पाण्डे र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि धारणा राखेका थिए।






