काठमाडौं – सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दलहरूबीच संसद अवरोध हटाउने विषयमा सहमति जुटेको छ। नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा वृहत्तर छानबिन गर्ने सहमतिसहित संसद सुचारु गर्ने निर्णय गरेका हुन्।
नेताहरूका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानलाई सहयोग गर्ने, विगतदेखि देखिएका समस्या समाधानका लागि नीतिगत, कानुनी र संरचनागत सुधार गर्न सरकार प्रतिबद्ध हुने सहमति बनेको हो।
माओवादी सांसद माधव सापकोटाका अनुसार सरकारले ३० दिनभित्र छानबिन समिति गठन गर्ने र त्यसको सन्दर्भमा प्रमुख दलहरूले संसद अवरोध हटाउने भएका छन्।
यसबीच रास्वपा भने आन्तरिक छलफलमा रहेको बताइएको छ। पार्टीका नेता शिशिर खनालका अनुसार केहीबेरमा आधिकारिक धारणा सार्वजनिक गरिनेछ। यद्यपि, एमाले मुख्य सचेतक महेश बर्तौलाले रास्वपाले नमाने पनि संसद आजैदेखि चल्ने स्पष्ट पारेका छन्।






