पोखरा – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बुधबार बसेको गण्डकी प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख डिल्लीराज भट्टले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
प्रस्तुत कार्यक्रममा पोखराको ब्राण्डिङलाई विशेष प्राथमिकता दिइएको छ। ‘पोखरा जाऔँ, प्रकृति र संस्कृतिसँग रमाऔँ’ भन्ने नारासहित ‘राउण्ड फेवा, भ्यू फेवा’ कार्यक्रमलाई सञ्चालन गरिने उल्लेख गरिएको छ। प्रदेश सरकारले पोखरालाई पर्यटनको केन्द्रको रूपमा स्थापित गर्न दीर्घकालीन योजना अघि सारेको जनाएको छ।
साथै, गण्डकी प्रदेशलाई पर्यटकीय राजधानीका रूपमा विकास गर्नका लागि तयार पारिएको अध्ययन प्रतिवेदनअनुसार कार्यक्रमहरू सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
स्वास्थ्य र सामाजिक क्षेत्रमा पनि प्रभावकारी कार्यक्रमहरू समेटिएका छन्।
– पूर्ण संस्थागत सुत्केरीयुक्त प्रदेश अभियानलाई निरन्तरता दिइनेछ।
– नसर्ने रोगहरूको स्क्रिनिङ र उपचारको व्यवस्था गरिनेछ।
– ‘सिक्दै कमाउँदै, कमाउँदै रमाउँदै’, ‘ठूला अगुवा’ र ‘आवासीय विद्यालय कार्यक्रम’ को प्रभावकारिता बढाइनेछ।
यस नीति तथा कार्यक्रममार्फत गण्डकी प्रदेश सरकारले समावेशी विकास, सामाजिक सुरक्षाको विस्तार, स्वास्थ्य पहुँचको सुदृढीकरण, शिक्षामा गुणस्तर वृद्धि, र पर्यटन तथा स्थानीय स्रोतसाधनको समुचित उपयोगमा केन्द्रित हुने प्रतिबद्धता जनाएको छ।
अबको चरणमा नीति तथा कार्यक्रममाथि छलफलपछि आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिने कार्यतालिका रहेको छ।






