पोखरा — गण्डकी प्रदेश सरकारले हालै कार्यान्वयनमा ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीलाई एक महिनाका लागि स्थगित गरेको छ। केन्द्र सरकारले नियमावली कार्यान्वयन रोक्न पठाएको निर्देशनपछि प्रदेश सरकारले उक्त निर्णय लिएको हो।
मुख्यमन्त्री कार्यालयका एक जना अधिकारीका अनुसार मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट पठाइएको पत्रअनुसार मुख्यमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले सम्बन्धित मन्त्री तथा पदाधिकारीहरूसँग छलफल गरेका थिए। छलफलपछि नियमावलीलाई अस्थायी रूपमा स्थगित गर्ने र त्यस अवधिमा यातायात व्यवसायीसँग वार्ता गरेर साझा सहमति खोज्ने निर्णय गरिएको जानकारी उनले दिए।
राइड सेयरिङ सेवा सञ्चालनका लागि गण्डकी सरकारले विशेष नियमावली ल्याएको थियो। तर, यसले पारम्परिक सार्वजनिक यातायात व्यवसायीको असहमति र विरोधसमेत सामना गर्नु परेको थियो। सरकारले वार्तामार्फत सहमतिको बाटो खोज्न नियमावली कार्यान्वयन एक महिनाका लागि रोक्ने निर्णय गरेको हो।






