काठमाडौँ — काठमाडौँ महानगरपालिका प्रहरी बलका प्रमुख राजु पाण्डे ६ महिनाका लागि निलम्बनमा परेका छन्। महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरुगाईँले उनलाई कार्यशैलीका गम्भीर प्रश्न उठाउँदै कारबाहीस्वरूप निलम्बन गरेका हुन्।
पाण्डेले मंगलबार निलम्बनको पत्र बुझेको पुष्टि गर्दै आफूलाई राम्रो काम गर्दागर्दै निलम्बन गरिएको गुनासो गरे। उनका अनुसार, उनी महानगरमा अनुशासित र कर्तव्यनिष्ठ ढंगले कार्यरत थिए। गत जेठ ६ गते पाण्डेलाई सात बुँदे स्पष्टीकरण सोधिएको थियो। प्रमुख प्रशासकीय अधिकृत गुरुगाईँले महानगरमा आफ्नो जिम्मेवारी सम्हाल्न जाँदा पाण्डेले जानाजान अवरोध गरेको आरोप लगाइएको छ। सो स्पष्टीकरणमा पाण्डेले कर्मचारी आचरणविपरीत व्यवहार गरेको, सञ्चार माध्यममा अनधिकृत बयान दिएका, जनप्रतिनिधिसँग अमर्यादित व्यवहार प्रदर्शन गरेको र वातावरणलाई नियोजित रुपमा तनावपूर्ण बनाउने काम गरेको उल्लेख छ।
त्यसैगरी, गुरुगाईँको कार्यालय प्रवेशमा बाटो छेकेर अवरोध गरेको आरोप पनि लगाइएको छ। यस प्रकरणपछि काठमाडौँ महानगरपालिकाभित्रको प्रशासनिक वातावरणमा थप तरंग सिर्जना भएको छ। पाण्डेले आफूविरुद्धको कारबाही पूर्वाग्रही भएको दाबी गर्दै न्यायिक पुनरावलोकनको संकेत गरेका छन्।






