जडीबुटी-पेप्सीकोला सडकको १५/१५ मिटर क्षेत्रभित्रका संरचना हटाउन ३५ दिनको अल्टिमेटम

काठमाडौँ – काठमाडौँको जडीबुटीदेखि पेप्सीकोला चोकसम्मको सडक क्षेत्रभित्र रहेका अनधिकृत संरचनाहरू हटाउन सरकारले ३५ दिने अल्टिमेटम जारी गरेको छ। सडक विभाग र काठमाडौँ महानगरपालिकाले संयुक्त सूचना निकाल्दै नक्सा पास विना वा विपरीत तरिकाले निर्माण गरिएका संरचना हटाउन भनेका हुन्।

सूचनामा २०५८ साल मङ्सिर १८ गते भौतिक योजना तथा निर्माण मन्त्रालयद्वारा राजपत्रमा प्रकाशित निर्णयअनुसार सडकको केन्द्र रेखाबाट दायाँबायाँ १५/१५ मिटर क्षेत्रलाई सडक सीमा मानिएको जनाइएको छ। यसै अनुसार वैशाख १० गते नेपाल सरकार र काठमाडौँ महानगरले संयुक्त रूपमा सीमाङ्कन गरेर चिनो लगाइसकेको बताइएको छ।

संयुक्त सूचनामा भनिएको छ, “३५ दिनभित्र तोकिएको सीमा क्षेत्रभित्रका अनधिकृत संरचना हटाउनुपर्नेछ, नत्र प्रचलित कानुनी प्रावधानअनुसार बाध्यकारी रूपमा हटाइनेछ।” सडक विस्तार, ट्राफिक व्यवस्थापन र सार्वजनिक पूर्वाधारको सुरक्षाका लागि यो अभियान आवश्यक रहेको बताउँदै स्थानीय प्रशासनले आफैँ हटाए कारबाहीबाट जोगिने, नभए कानुनी प्रक्रिया अघि बढाइने स्पष्ट पारेको छ।

यस क्षेत्रमा अतिक्रमण गरी बनाइएका घर, सटर, पर्खाल, गोदामलगायतका संरचनाले सडक क्षेत्र साँघुरो बनाउँदै आएको गुनासो पटकपटक उठ्दै आएको थियो। सरकारले पटक–पटक सचेत गराउँदा समेत अतिक्रमण नहटाइएको भन्दै अब कडाइका साथ कार्यान्वयन गरिने जनाइएको छ। सडक क्षेत्र अतिक्रमणको अन्त्यसँगै यो मार्ग थप सुरक्षित र सुविधाजनक हुने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्