काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ गते काठमाडौंमा भएको तोडफोड र आगजनी घटनालाई बेवारिसे भन्दै कडा व्यंग्य गरेका छन्।
आइतबार प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले राजावादी आन्दोलनप्रति स्पष्ट कटाक्ष गर्दै घटनाको आह्वान कसले गरेको भन्ने प्रश्न उठाए। “चैत १५ गतेको आह्वान कसले गरेको थियो? त्यस वितण्डाको आयोजक को थियो? अहिले कोही माईबाप नै निस्कँदैन त्यो दिनको घटनाको,” प्रधानमन्त्री ओलीले प्रश्न गर्दै भने, “बेवारिसे। जन्माउने को हुन्? मातापिता को हुन्? पत्तो छैन।”
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले संविधानको धारा २७० उल्लंघन गर्दै सरकारले फरक विचार राख्नेलाई निषेध गर्न खोजेको आरोप लगाएपछि जवाफ दिँदै प्रधानमन्त्री ओलीले विचार राख्न पाउने अधिकार सबैलाई रहेको स्वीकारे। तर उनले उक्त अधिकारको दुरुपयोग गरेर हिंसात्मक गतिविधि गर्न नपाइने बताए।
“धारा २७० ले अधिकार दिन्छ नै, त्यसैले त हामी संसदमा छौं। विचार व्यक्त गर्न पाइन्छ, थोत्रो पनि विचार व्यक्त गर्न पाइन्छ,” उनले भने।
तीनकुने क्षेत्रमा भएको आगजनी र क्षतिबारे बोल्दै प्रधानमन्त्री ओलीले थपे, “के त्यो जडिबुटीको औषधी कारखाना आफैं दिक्क लागेर जल्ने निर्णयमा पुग्यो? आत्मदाह गर्यो? त्यसको उत्तर दिनुपर्छ।” प्रधानमन्त्री ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको ‘कि राजा ल्याउने सम्झौता गर, होइन भने भाग्न तयार होऊ’ भन्ने अभिव्यक्तिमाथि पनि कडा आलोचना गरे। “कहाँ भाग्ने? भाग्नुपर्छ भनेर नेपाली जनतालाई ललकार्ने? नेपाली जनता भाग्दैनन्। उनीहरू यो देशका सबैभन्दा बढी हकदार हुन्,” प्रधानमन्त्रीले भने।
संविधानका धारालाई आफू अनुकूल व्याख्या गरेर कहिले मान्ने र कहिले फाल्ने भन्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै उनले भने, “संविधान फाल्छु, मान्दिनँ भन्ने! चाहिएको बेला संविधान चाहिन्छ रे। त्यसैले संविधान फाल्नु हुँदैन।” प्रधानमन्त्रीको अभिव्यक्तिले हालै बढिरहेको राजावादी आन्दोलनको पृष्ठभूमिमा सरकारको स्पष्ट र चर्को राजनीतिक सन्देश प्रवाह गरेको छ।