पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीचको तनाव थप चर्किएको छ। भारतले उक्त आक्रमणपछि प्रतिक्रिया स्वरूप पाकिस्तानका विभिन्न स्थानमा मिसाइल प्रहार गरेको दाबी गरेको छ।
भारतीय सरकारी स्रोतहरूका अनुसार गए राति पाकिस्तानले भारतका जम्मु, पठानकोट र उधमपुरस्थित सैन्य क्याम्पहरूमा ड्रोन हमला गरेको हो। तर भारतले ती सबै आक्रमणहरू निस्तेज गर्न सफल भएको दाबी गरेको छ। बीबीसीले भारतीय अधिकारीहरूलाई उद्धृत गर्दै यो जानकारी सार्वजनिक गरेको हो।
यता पाकिस्तानले भने भारतको आरोप अस्वीकार गरेको छ। पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले जम्मु कश्मिरमा भएको भनिएको कुनै पनि आक्रमणमा पाकिस्तानको संलग्नता नरहेको स्पष्ट पार्दै उक्त घटनाको जिम्मेवारी लिन अस्वीकार गरेका छन्।
आसिफले भनेका छन्, “हामी यसलाई इन्कार गर्छौं। हामीले अहिलेसम्म केही गरेका छैनौँ। जब पाकिस्तानले आक्रमण गर्छ, त्यसपछि सबैले थाहा पाउने नै छन्।”
भारत–पाकिस्तानबीचको पछिल्लो सैन्य तनावले दक्षिण एसियाली क्षेत्रमा शान्ति र सुरक्षाको अवस्था थप संवेदनशील बनाएको छ।