धनुषाको सहिद नगरपालिका–५ यदुकोहामा विष सेवनबाट मृत्यु भएका तीन बालबालिकापछि आमाको पनि निधन भएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गम्भीर अवस्थामा जनकपुरधामस्थित रामजानकी अस्पतालमा उपचाररत पवित्रा साहको आज निधन भएको हो।
गत सोमबार गहुँमा राखिने विषादी सेवनबाट पवित्रा साह गम्भीर बिरामी परेकी थिइन् भने उनका तीन सन्तान—छ वर्षीय आदित्य साह, चार वर्षीया आकृति साह र दुई वर्षीया आरुती साहको घटनास्थलमै मृत्यु भएको थियो। मृतक पवित्रा साह यदुकोहाका सुशील साहकी पत्नी हुन्।
गर्भवती पवित्रालाई अस्पताल भर्ना गरिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। शल्यक्रिया गरेर निकालिएको शिशुको अवस्था भने सामान्य रहेको अस्पतालका सञ्चालक डा. मिथलेश साहले जानकारी दिएका छन्।
घटना पारिवारिक विवादका कारण भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ। हाल घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।