स्ववियु निर्वाचन आज, कीर्तिपुरमा चैत ८ गते हुने

काठमाडौं – त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुनेभएको  छ। तर, विश्वविद्यालय क्याम्पस (कीर्तिपुर) मा भने चैत ८ गते मात्र निर्वाचन हुने भएको छ।

विश्वविद्यालय क्याम्पसमा २१ सदस्यीय स्ववियु चयन हुनेछ, जसमा ११ सदस्य प्रत्यक्ष रूपमा निर्वाचित हुनेछन् भने १० जना समानुपातिक प्रणालीबाट चयन गरिनेछन्। निर्वाचनमा कूल ६,१४६ मतदाता सहभागी हुनेछन्।

अध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा प्रत्यक्ष रूपमा निर्वाचन हुनेछ भने उपाध्यक्ष र उपसचिवसहित २१ सदस्य निर्वाचित भएपछि ती पदहरूमा चयन गरिनेछ। कुनै एक विद्यार्थी सङ्गठनले बहुमत ल्याएमा उपाध्यक्ष र उपसचिव उसैका सदस्यबाट चयन हुनेछन्। तर, बहुमत नआए सहमति वा मतदानमार्फत चयन प्रक्रिया अघि बढाइनेछ।

कीर्तिपुरस्थित विश्वविद्यालय क्याम्पसमा भने इलेक्ट्रोनिक भोटिङ मेसिन (EVM) प्रयोग गरिनेछ। मतदानका लागि २० वटा मेसिन राखिने निर्वाचन समितिले जनाएको छ। यसैबीच, स्ववियु निर्वाचनका क्रममा विभिन्न समस्या देखिन थालेका छन्। सोमबार मध्यराति रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर क्याम्पस) मा अनेरास्ववियुले तालाबन्दी गरेको छ। क्याम्पस प्रशासनले फर्जी परिचयपत्र वितरण गरेको आरोप लगाउँदै निष्पक्ष छानबिनको माग गरिएको छ।

त्यस्तै, सुरक्षाका कारण देखाउँदै अमृत साइन्स क्याम्पसमा आजका लागि तोकिएको स्ववियु निर्वाचन स्थगित गरिएको छ। क्याम्पस प्रमुख होमबहादुर बानियाँले सूचना जारी गर्दै निर्वाचन स्थगित गरिएको जानकारी गराएका छन्। सोमबार बोलाइएको बैठकमा केही विद्यार्थी सङ्गठन अनुपस्थित भएपछि निर्वाचन स्थगित गर्ने निर्णय गरिएको उल्लेख छ।

स्ववियु निर्वाचनको अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोग पनि परिचालित रहने जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्