काठमाडौं – पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र पक्षधरहरू मिलेर अघि बढ्नुपर्ने प्रस्ताव गरेका छन्।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग अनौपचारिक संवादमा प्रचण्डले गणतन्त्रविरोधी शक्तिहरू सक्रिय भएकाले एकता आवश्यक रहेको बताएका हुन्। प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यका अनुसार प्रतिगामी गतिविधि रोक्न संवाद भएको हो, सरकारमा जाने विषयमा कुनै छलफल भएको छैन। केही दिनअघि ओलीका विज्ञ सल्लाकार अग्नि खरेल प्रचण्ड निवास खुमलटारमा पुगेका थिए।
फागुन ७ गते प्रजातन्त्र दिवसमा पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्ति र फागुन २५ गते त्रिभुवन विमानस्थलमा राजावादीहरूको उपस्थिति माओवादीका लागि चिन्ताको विषय बनेको छ। यसअघि माओवादी सांसद लेखनाथ दाहालले गणतन्त्र पक्षधर सरकार बन्ने सम्भावना खुलेको बताएका थिए। उनका अनुसार हाल सडकभन्दा सरकारभित्र समस्या देखिएको र त्यसलाई निरुत्साहित गर्न छलफल अघि बढाइएको छ।