काठमाडौं – पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्कीबाट धरौटीमा बिहीबार रिहा भएका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदैछन् ।
लामिछानेविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आज उनी आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित हुन लागेका हुन् । रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने जानकारी दिए ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज कुमार राईको आदेशमा लामिछाने ६५ लाख धरौटी बुझाएर प्रहरी हिरासतबाट छुटेका थिए । रविलाई धरौटीमा छाड्न दिएको आदेशमा न्यायाधीश राईले उनी किन कसुरदार छैनन् भन्न सकिँदैन भन्नेमा पर्याप्त आधार प्रस्तुत गरे पनि धरौटी माग्नुको कारणबारे उल्लेख गरेका छैनन् ।
उनलाई आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने कागज गराई विहीबार परिवारको जिम्मा लगाइएको थियो । कास्की जिल्ला अदालतबाट छुटेपछि प्रहरीले पोखराको फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर लामिछानेलाई परिवारको जिम्मा लगाएको थियो ।
रविसँगै छविलाल जोशी, लीला पछाईँ, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ र आरती गुरूङ पनि धरौटी रकम बुझाएर रिहा भएका छन् ।