काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी) अर्याल बनेका छन्। उपसभापति अर्याललाई सोमबार बसेको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको हो।
रास्वपाको विधानमा ज्येष्ठ उपसभापति वा पार्टी सभापतिले तोकेको उपसभापति कार्यवाहक सभापति बन्ने व्यवस्था छ। उपसभापति अर्यालभन्दा अर्का उपसभापति स्वर्णिम वाग्ले ज्येष्ठ हुन्। तथापि सभापति लामिछानेले अर्याललाई नै कार्यवाहक तोक्ने सिफारिस गरेका छन्।
रास्वपा सभापति रवि लामिछानेविरूद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगीलगायत चार कसुरमा मुद्दा दर्ता भएको थियो। यही अभियोगमा सभापति लामिछाने गत कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन्। लामिछाने हिरासतमा रहँदा रास्वपाले कार्यवाहक सभापतिको जिम्मेवारी कसैलाई पनि तोकेको थिएन। तर केन्द्रीय समिति बैठकहरू भने उपसभापति अर्यालकै अध्यक्षतामा बस्ने गरेको थियो।