काठमाडौं – काठमाडौंमा केही दिनयता चिसो घटेको छ । शनिबार काठमाडौंको यो वर्षकै सबैभन्दा चिसो दिन रह्यो, न्यूनतम तापक्रम २ डिग्री सेल्सियस पुगेको थियो । तर त्यसपछि चिसो केही कम हुँदै आएको हो ।
शनिबार चिसो अझै बढ्ने अनुमान गरिएको भए पनि आइतबारबाट मौसममा सुधार देखिएको छ । आइतबार काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन गरिएको थियो । सोमबार र मंगलबार यो तापक्रम ४.८ डिग्री सेल्सियस रह्यो । आज भने न्यूनतम तापक्रम ५.१ डिग्री सेल्सियस मापन भएको छ ।
मौसमविद् मीनकुमार अर्यालका अनुसार न्यूनतम तापक्रममा वृद्धि हुनुका कारण रातमा बादल जम्नुलाई मान्न सकिन्छ । बादलको उपस्थिति र कम हावा चल्दा चिसो घट्ने अवस्था सिर्जना हुन्छ । तर, यदि आकाश सफा र हावा बढी चल्यो भने फेरि तापक्रम घट्न सक्ने सम्भावना रहेको उनले बताए । हाल कुनै ठूलो मौसमी प्रणाली प्रभावमा नरहेकाले तापक्रम केही दिन यस्तै रहने सम्भावना रहेको छ । चिसो बढ्ने समय भएकाले न्यूनतम तापक्रममा विशेष वृद्धि हुने सम्भावना कम छ ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराई तथा उपत्यका केही स्थानमा हुस्सुका साथै थोरै स्थानमा कुहिरोको लागेको छ । दिउँसो र रातिको समयमा देशभरको मौसम मुख्यतया सफा रहनेछ ।
बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु साथै थोरै स्थानमा कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, यातायात तथा हवाई उड्डययनमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।