काठमाडौं – नेपाल यू १९ पुरुष क्रिकेट टोलीले कर्नाटकविरुद्ध खेलिरहेको अभ्यास सिरिज जितेको छ ।
ओपनर द्वय आकाश त्रिपाठी र मयन यादवको अर्धशतकमा नेपालले सिरिज जितेको हो । पाँचौँ तथा निर्णायक खेलमा नेपालले ७ विकेटको जित निकाल्यो । नेपालले जितका लागि १ सय ९२ रनको मध्यम लक्ष्य पाएको थियो । उक्त लक्ष्य नेपालले ४० औँ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
नेपालका लागि ओपनर आकाशले नट आउट ८९ रन जोडे । उनले १ सय ५ बलमा ७ चौका र १ छक्का प्रहार गरे । अर्का ओपनर मयनले ५० रन जोडे । उनले ६६ बलमा ६ चौका र १ छक्का प्रहार गरे । अर्जुन कुमालले २६ बलमा २१ रन बनाए । सन्तोष यादव ४ रनमा बोल्ड आउट भए । कर्नाटकका लागि प्रणव अश्वथले २ तथा तेजसले १ विकेट लिए ।