काठमाण्डाै – पूर्वसभामुख दमननाथ ढुङ्गानाको राजकीय सम्मानका साथ आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले दिवङ्गत ढुङ्गानाको सम्मानमा शोक १७ तोपको सलामी अर्पण गरेको थियो । ढुङ्गानाको पार्थिव शरीरमा उहाँका छोराहरू निमेष र निशेषले दागबत्ती दिनुभएको छ ।
कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा हिजो निधन भएको थियो ।
पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गर्न सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, उपसभामुख इन्दिरा राना, पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री, मन्त्री गण, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, सांसद तथा विभिन्न पेशा व्यवसायमा आबद्ध व्यक्ति तथा सर्वसाधारण आर्यघाट पुगेका थिए ।
अस्पतालमा निधन हुनासाथ ढुङ्गानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा रहेको शव गृहमा राखिएकोमा आजै बिहान ज्ञानेश्वरमा रहेको सानो गौचरणमा राखेर उहाँप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । प्रधानमन्त्री, सभामुख, नेपाली कांग्रेसका सभापतिसहित विभिन्न राजनीतिक दलका नेता सानो गौचरन पुगेका थिए ।
श्रद्धाञ्जली अर्पण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख ढुङ्गाना नेपालको संसदीय अभ्यासमा बेग्लै पहिचान र मान्यता राख्ने बहुआयामिक व्यक्तित्व भएको बताउनुभयो । यस्तै कांग्रेस सभापति देउवाले ढुङ्गानाले सरकार बहुमतको र संसद् विपक्षीको भन्ने कुरा स्थापित गराउनुभएको बताउनुभयो । यसैगरी पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ढुङ्गानालाई नेपाली नागरिकले लोकतान्त्रिक व्यक्तित्वको रूपमा चिन्ने उल्लेख गर्नुभयो ।
नेपाल सरकारले आजै उहाँको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । नेपालमा बहुदलीय व्यवस्था, लोकतन्त्र, शान्ति र मानव अधिकारका पक्षमा जीवनपर्यन्त वकालत गरिरहनुभएका ढुङ्गानाले देशमा विगतको माओवादी सशस्त्र द्वन्द्व अन्त्य गरी शान्ति बहाली गर्नसमेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभयो ।
ढुङ्गानाकाे योगदानको सम्मान गर्दै सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ । बिहान साढे ९ बजे मात्रै सरकारले बिदाको निर्णय सार्वजनिक गरेकाले धेरै सर्वसाधारणले दुःख पाएका छन् । कार्यालय पुगेका सेवाग्राही र कर्मचारी तथा विद्यालय पुगेका विद्यार्थी अन्योलमा पर्दै घर फर्किएका थिए ।
ढुङ्गानाले नेपाली लोकतन्त्र र संसदीय व्यवस्थामा गरेको योगदानलाई सम्मान गर्नुपर्ने तर अन्तिम समयमा बिदाको घोषणा गरेको भन्दै सामाजिक सञ्जालबाट सरकारको चर्को आलोचना भएको छ ।